स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

रसुवा । नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पुर्‍याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ ।

ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडक मार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापनका अध्यक्ष समेत रहेका उनले चिनियाँ भू-भागमा भारी वर्षा भइरहेका कारण पटक पटक आउने बाढीप्रति पूर्व सावधानी अपनाउँदै नदी किनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रह समेत गरे ।

गए रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएकोसमेत प्रजिअ पौडेलले जानकारी दिए । ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गए राति नै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१