नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेला काठमाडौँमा हुँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला काठमाडौँको नयाँ बानेश्वरमा जारी छ।

केही बेरअघि सुरु भएको राष्ट्रिय भेलामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय र अध्यक्ष रञ्जिता श्रेष्ठमाथिको अनुशासनको कारबाहीबारे छलफल हुनेछ।

अध्यक्ष श्रेष्ठ राष्ट्रिय भेलामा सहभागी छैनन्। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएपछि उनले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक तोकेर पार्टीको जिम्मेवारीबाट हटेकी छिन्।

उनी अध्यक्षमा बहाल नरहेको पत्र निर्वाचन आयोगमा पुगिसकेको नाउपाका एक सदस्यले बताए। तर, त्यो अद्यावधिक हुने सम्भावना नरहेको एक सदस्यले बताए। २०८० पुस मसान्तमा नाउपाले पहिलो महाधिवेशन गर्दै अध्यक्ष रेशम चौधरी बनाएको थियो। तर निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो।

नाउपा श्रेष्ठ नेतृत्वको पुरानै २१ सदस्यीय कमिटीमा फर्किएको थियो। अहिले कार्यवाहक तोकिएका शिव बास्तोलालाई पनि निर्वाचन आयोगले चिन्दैन। उनी २१ सदस्यीय पुरानो कमिटीमा छैनन्। तर अध्यक्ष श्रेष्ठले नै उनलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएकी थिइन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१