• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

संसद बैठकमा मन्त्रीहरूको असावधानी: प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमा निदाएकाे अवस्था

काठमाडौँ । संसद् बैठकमा मन्त्रीहरूको लापरवाहीपूर्ण व्यवहार सार्वजनिक भएको छ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मनवीर राई बैठककै क्रममा निदाएको दृश्य सार्वजनिक भएको छ।

प्रधानमन्त्री ओलीको छेउमा बसेका मन्त्रीहरू आँखा चिम्लिएर निदाइरहेको तस्बिर सार्वजनिक भएसँगै व्यापक आलोचना सुरु भएको छ। संसद्जस्तो संवेदनशील र उत्तरदायी थलोमा कानुन निर्माणदेखि राष्ट्रका गम्भीर विषयमा छलफल भइरहँदा मन्त्रीहरूको यस्ता लापरवाहीपूर्ण गतिविधिले सरकारको गम्भीरता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।

बैठक चलिरहेको समयमा मन्त्रीहरूसँगै केही सांसदहरू समेत निदाएको दृश्य देखिएको छ। संसद् बैठकमा यस्तो गैर जिम्मेवार आचरणले संसद्प्रति जनताको विश्वासमा गम्भीर चोट पुर्याएको विश्लेषकहरू बताउँछन् ।

सामाजिक सञ्जालमा मन्त्रीहरू निदाएको तस्बिर तीव्र गतिमा भाइरल भइरहेको छ। धेरै नागरिकले यस दृश्यलाई सत्ताको चरम लापरवाहीको संज्ञा दिएका छन्। कतिपयले संसद् बैठकमा समेत आफूलाई नियन्त्रित राख्न नसक्ने मन्त्रीहरूबाट नीति, कार्यक्रम र सेवा प्रवाहमा कस्तो प्रतिबद्धता र परिणाम अपेक्षा गर्ने भन्ने प्रश्न उठाएका छन्।

यसैबीच, राष्ट्रिय सभाको बैठक अहिले पनि जारी छ।