अस्पताल भर्ना भए पनि मेयर भट्टराई अनसन कायम राख्ने अडानमा

काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् ।

उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । हिजो राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।

गत साउन ११ गतेदेखि सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनसन सुरु गरेका भट्टराईले माग पूरा गर्नुपर्ने तीन दिनको अल्टिमेटम दिएका थिए । तर, तीन दिनमा पनि माग पूरा नभएपछि हिजोबाट भने आमरण अनसन सुरु गरेका थिए ।

आमरण अनसन सुरु भएपछि उनको स्वास्थ्यमा समस्या आएको हो । हिजो राति अस्पताल भर्ना भएका भट्टराईले बिहानैबाट डक्टरहरूलाई डिस्चार्ज गरिदिन माग गरेका थिए । आफू माइतीघरमै आमरण अनसन बस्ने भन्ने माग डक्टरहरूसँग गरे पनि उनलाई डाक्टरहरूले डिस्चार्ज दिन मानेनन् ।

स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने भन्दै डाक्टरले डिस्चार्ज दिन नमानेपछि भट्टराई समर्थकहरूले अस्पतालमै विरोध जनाएका थिए ।अहिले भने स्वास्थ्यको जिम्मा आफैँले लिने गरी कागज गरिसकिएको भट्टराईका एक सहयोगीले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१