• २०८३ साउन ७
  • 2026 July 23, Thursday

पशुपतिनाथ क्षेत्रमा सफाइ अभियान सुरु, सुदूरपश्चिमका कलाकारहरूको सक्रिय सहभागिता

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाइ र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले मैनादेवी फाउन्डेसनले क्लाइमेट स्मार्ट सिटिजसँगको सहकार्यमा सफाइ अभियान सुरु गरेको छ।

अभियानको पहिलो दिन शनिबार पशुपति क्षेत्रभित्र सफाइ कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सुदूरपश्चिमका चर्चित कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको फाउन्डेसनका अध्यक्ष तथा अभियन्ता केपी खनालले जानकारी दिए। सहभागी कलाकारहरूमा लोक गायक चक्र बम, टंक तिमिल्सेना, नेपाल आइडल विजेता रवि ओड, चेतन बोहोरा, लालबहादुर धामी, गायिका अनिता चलाउने र हास्य कलाकार हेमराज अधिकारी प्रमुख थिए।

सफाइ अभियानमा क्रेसन नेपाल, मैनादेवी फाउन्डेसनका स्वयंसेवकहरू तथा सेन्ट लरेन्स कलेजका विद्यार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। अभियानबाट करिब ३०० केजीभन्दा बढी फोहोर संकलन गरिएको छ। संकलित फोहोरमध्ये चुरोटका खोस्टा, चकलेटका खोल, मेडिकल सामग्री र गुट्खाका खोल बढी भेटिएका थिए।

अभियन्ता खनालले पशुपति क्षेत्रलाई सफा, हरियालीयुक्त र पर्यावरणमैत्री बनाउने लक्ष्यसहित अभियानलाई नियमित रूपमा अगाडि बढाइने बताए।