प्रचण्डको नेतृत्वमा सबैको सहमति रहेको देव गुरुङको दाबी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताएका छन् ।पार्टीको स्थायी समिति बैठकमा बोल्दै गुरुङले अध्यक्ष ‘प्रचण्ड’को नेतृत्व सर्वमान्य भएको बताए ।

पार्टीका लागि ‘प्रचण्ड’को नेतृत्व सुनौलो अवसर भएको उनले बताए । उनले भने, ‘अध्यक्षको नेतृत्व सर्वमान्य भएको छ । राजनेताको रूपमा स्थापित भएको छ । यो हाम्रो सुनौलो अवसर हो । यस्तो बेलामा लिडरसिपको बारेमा प्रश्न उब्जाइनु ठिक छैन ।’

उपमहासचिव जनार्दन शर्माले नेतृत्वका बारेमा बाहिर बोलेको विषयमा गलत भएको गुरुङले टिप्पणी गरे । उनले भने, ‘उत्तराधिकारी बनाएर बनिने कुरा होइन । तोकेर हुने कुरा होइन । आन्दोलनका क्रममा हुने कुरा हो । विधि पद्धतिका हिसाबले बाहिर जानु ठिक छैन । गलत हुन्छ ।’

महासचिव गुरुङले अब एकताबद्ध भएर अध्यक्षले प्रस्तुत गरेको प्रस्तावअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१