
काठमाडौँ, १९ साउन । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई यथाशीघ्र मलखादको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा सांसदहरुले मल र खादको व्यवस्था नहुँदा किसानहरु मार्कामा परिरहेको उनीहरुको भनाइ छ ।
सांसद देवप्रसाद तिमिल्सिनाले नेपाललाई कृषिप्रधान देश भनिए पनि मल नपाएर देशभरिका किसानहरु समस्यामा परेको उल्लेख गर्दै यथाशीघ्र समस्या समाधानमा जोड दिए । सांसद प्रभु हजाराले दुई दिनयता मधेसमा पानी परेसँगै किसानले धान रोप्न सुरु गरे पनि मलखाद नपाउँदा समस्यामा परिरहेको बताए ।
सांसद वासुदेव घिमिरेले मलखादको वितरण समान हुन नसक्दा अभावको सामना खेप्नु परिरहेको उल्लेख गरे । उनले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “कार्यविधि संशोधन नहुँदा सहुलियतको रासायनिक मल वितरण समन्यायिक भएको छैन, वैज्ञानिक आधार र क्षेत्रीय भौगोलिक विविधताको उचित मूल्याङ्कन नगरी मलखाद वितरण भएको छ ।”
उनले यसरी मलखाद वितरण गर्दा पहाडी क्षेत्रमा मल थन्किने र तराईमा अभाव हुने देखिएकाले तराईका किसानहरु अत्यन्त मार्कामा परिरहेको दाबी गरे ।
सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्षणको विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनःस्थापना र व्यवस्थापनको दिगो समाधन नहुँदा समस्यामा परेको बताए । “पुनःस्थापना र व्यवस्थापनका लागि सरकारले हालसम्म ३२ वटा अयोग गठन गर्दा पनि समस्या समाधान हुन नसक्दा विस्थापित परिवारहरु निराश छन् । शिविरहरुमा कष्टकर जीवन बिताउन बाध्य छन् । दीर्घकालीन समाधानका लागि अनुरोध गर्दछु”, उनले भने ।
सांसदहरु दुर्गा राई र नारायणी शर्माले मुलुकी अपराध संहिताले पूर्णत निषेध गरेको बहुविवालाई छुट दिने कानुन ल्याउन लागिएको सुनिएको उल्लेख गर्दै त्यसको विरोध गरे । सांसद राईले महिलामाथि हिंसा हुने र पुरुष छाडा हुने यो कानुन किन ल्याउन लागिएको भनेर विधेयकको घोर निन्दा र भत्सर्ना गरिन् । सांसद शर्माले यो विधेयकलाई तत्काल नष्ट गर्नुपर्ने बताइन् ।
सांसद प्रकाश ज्वालाले पनि बहुविवाहको बाटो खोल्ने गरी कानुनमा गर्न लागेको संशोधन रोकिनुपर्ने माग गरे । उनले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र प्रेसलाई नियन्त्रण गर्ने गरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुनेगरी अघि बढाउन आग्रह गरे । उनले सङ्घीय निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ हटाउन छलछाम षड्यन्त्र गर्न व्यक्तिहरुको नाम र कारबाही किटान गरेर प्रतिवेदन आओस् भन्ने मागसमेत गरे ।
सांसद प्रतिमा गौतमले ललितपुरको गोदावरी क्षेत्रको ६० प्रतिशत जारको पानीमा ढलजन्य किटाणुको मात्रा भेटिएको तथ्य सार्वजनिक गर्दै यस्तो दूषित पानीका कारण झाडापखाला, टाइफाइडजस्ता रोगको महामारी फैलन सक्ने खतरा रहेको बतायन् । उनले पानी आपूर्ति गर्ने कम्पनीहरूको परीक्षणलाई कडाइ गर्न सरकारसँग माग गरिन् ।
सांसद विमला सुवेदीले प्रतिनिधिसभाको नियमावलीअनुसार गठन हुनुपर्ने महिला समन्वय समिति अझै गठन नभएकोप्रति आपत्ति जनाउँदै तत्काल गठन गर्न माग गरिन् । सांसदहरु दीपक गिरी, दिलेन्द्रप्रसाद बडू, नैनकला थापा, पुष्पबहादुर शाह र प्रतीक्षा तिवारीले जनचासोका सरोकारहरुबारे धारणा राखे ।