दुर्गा प्रसाईंको अभिव्यक्ति: म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु

  • तरिका र शैली फेरिन सक्छ, तर मेरो स्वभाव परिवर्तन हुने छैन
  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं उच्च अदालतको आदेशले २८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि कारागार मुक्त भएका प्रसाईंले सार्वजनिक सन्देश जारी गर्दै न्याय मरेको छैन भन्ने अनुभूति भएको बताएका छन्।

    प्रसाईंले भने, `जिल्ला अदालतको आदेशले कारागार चलान हुँदा म खुशी साथ आदेश पालना गर्दै गएको थिएँ। आज उच्च अदालतको आदेशले मलाई रिहा गर्दा म भावी देश निर्माणको योजनासहित घर फर्किंदै छु।´

    प्रसाईंले देश–विदेशमा रहनुभएका नेपाली नागरिक, शुभेच्छुक, सहयोगी र समर्थकहरूप्रति धन्यवाद व्यक्त गर्दै अदालतप्रतिको विश्वास अझ बलियो भएको उल्लेख गरेका छन्।

    उनले भने, `न्याय मरेको छैन भन्ने अनुभूति दिलाउनु हुने अदालत परिवारमा हार्दिक आभार व्यक्त गर्दछु। मेरा लागि सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन।´

    कारागार जीवनमा साथ दिने नेपाल प्रहरी, कारागार प्रशासन र कैदीबन्दी साथीहरूलाई पनि उनले कृतज्ञता प्रकट गरेका छन्।

    देशको सेवा नै आफ्नो लक्ष्य रहेको बताउँदै प्रसाईंले भने, `म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु। तरिका र शैली फेरिन सक्छ, तर मेरो स्वभाव परिवर्तन हुने छैन।´

     

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१