
बाढी र पहिरोका कारण देशभर १० वटा सडक पूर्ण रूपमा बन्द भएका छन् भने १४३ स्थानमा मात्र एकतर्फी आवागमन भइरहेको सडक विभागले जनाएको छ।
विभागका अनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ र आँवुखैरेनी–गोरखा सडक अवरुद्ध भएका छन्। अहिले पहिरो पन्छाउने कार्य भइरहेको छ।
रसुवाको कुलुङस्थित मितेरी पुल बगाउँदा रसुवागढी–स्याफ्रुबेसी सडक खण्ड बन्द भई चीनसँगको आपूर्ति ठप्प भएको छ। भोटेकोसीले कटान गरेपछि सो सडक दुई सातादेखि सञ्चालनमा आउन सकेको छैन।
सुनसरी–सङ्खुवासभा जोड्ने कोशी करिडोर पनि वरुण नदीमा बनेको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ। त्यस्तै ताप्लेजुङको फाक्ताङ्लुङ–५ र ६ जोड्ने रानीपुलको बेलीब्रिज बाढीले बगाउँदा तमोर करिडोर ठप्प भएको विभागले जनाएको छ।
सिन्धुपाल्चोकको कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द छ भने पश्चिम रुकुमको चोखाखोला, रिजगाड, उसुम खोला र छलगाड क्षेत्रमा लेदोमाटोसहितको पहिरो जाँदा भेरी करिडोर पूर्ण रूपमा रोकिएको छ।
यस्तै रोल्पाको पुतलाचौर–ग्राम्जिम क्षेत्रमा गएको पहिरोले सहिद राजमार्ग अवरुद्ध भएको छ। बागलुङको काली खोलामा खसेको पहिरोका कारण रिडी–तानसेन–कोरला सडक अवरुद्ध भएको छ भने दैलेखको बग्डुल्लामा गएको पहिरोले खुलालु–जुम्ला सडक रोकेको विभागले जनाएको छ।
विभागका अनुसार अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण परिचालन गरेर पहिरो पन्छाउने प्रयास जारी राखिएको छ।