
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण यसपटक परम्परागत शैलीभन्दा केही भिन्न हुने भएको छ। उनले काठमाडौंबाट सिधै नेपाली सेनाको विशेष विमानमार्फत भारत जाने तयारी भएको छ। बोधगयामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता तय भएकाले यस्तो व्यवस्था मिलाइएको हो।
प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा लिएर भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइसकेका छन्। सेनाको विशेष विमान प्रयोग गर्न आवश्यक स्वीकृति लिने प्रक्रिया सैनिक मुख्यालयमार्फत अघि बढाइएको छ। सेनासँग भिआइपी प्रयोजनका लागि अन्तर्राष्ट्रिय उडान गर्न सक्ने एउटा विमान उपलब्ध छ।
ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक स्थल बोधगयाको महाबोधी सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता र विभिन्न सम्झौताहरू हुने कार्यक्रम छ। भदौ ३१ देखि असोज २ गतेसम्मको भ्रमण अवधिमा प्रधानमन्त्री ओलीले बोधगया र बिहारस्थित नालन्दा विश्वविद्यालय दुवै स्थानको भ्रमण गर्नेछन्।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जन्मस्थल लुम्बिनीमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। यसपटक ओलीले एसियाकै प्राचीन नालन्दा विश्वविद्यालयमा प्रवचन दिने तयारी छ। उक्त विश्वविद्यालय सन् ४२७ मा गुप्त सम्राट कुमार गुप्त प्रथमले स्थापना गरेका थिए र यसलाई विश्वकै पहिलो आवासीय विश्वविद्यालय मानिन्छ।
नालन्दामा बौद्ध दर्शन, गणित, चिकित्सा, खगोलशास्त्र, राजनीति र साहित्य जस्ता विषय अध्यापन हुन्थ्यो। तर सन् ११९३ मा मुस्लिम आक्रमणकारी बख्तियार खिलजीले आक्रमण गर्दा विशाल पुस्तकालयसहित विश्वविद्यालय पूर्ण रूपमा ध्वस्त भएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल बोधगयाको ह्यात प्यालेस होटलमा बस्ने कार्यक्रम छ। यसका लागि दुई दिनका लागि सो होटल पूर्ण रूपमा खाली गराई भारत सरकारको नाममा बुक गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ।