सिस्नेरी सडक अवरुद्ध, पहिरो पन्छाउन ३ मेसिन प्रयोगमा

काठमाडौँ जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक सुक्खा पहिरोका कारण २४ घण्टादेखि अवरुद्ध बनेको छ। शनिबार बिहान ९ः३० बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत जेसीबी र एस्काभेटर प्रयोग गरी सडक खोल्ने प्रयास भए पनि निरन्तर पहिरो खस्दा समस्या उत्पन्न भएको छ। प्रदेश राजधानी पूर्वाधार विशेष आयोजना, हेटौंडाले आइतबार साँझसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित तीनवटा मेसिन प्रयोग गरेर काम गरिरहेको जनाएको छ।

आयोजनाका प्रमुख देवनारायण यादवका अनुसार शनिबार साँझसम्म बाटो खोल्ने प्रयास भए पनि निरन्तर पहिरो खसेपछि काम रोकिएको थियो। अहिले एस्काभेटर, जेसीबी र लोडरमार्फत दुईतर्फबाट पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर सडक साँघुरो र जोखिमपूर्ण भएकाले थप मेसिन पठाउन सकिने अवस्था छैन।

कामको क्रममा प्रयोग गरिएको लोडरमाथि समेत पहिरो खसेर पुरिएको यादवले बताए। तत्कालका लागि खोलातर्फ डाइभर्सन प्रयोग गरेर सवारीसाधन सञ्चालन गरिएको छ। तर सडक पूर्ण रूपमा सञ्चालन नहुँदासम्म यात्रु चाप कम गर्न वैकल्पिक मार्गको रूपमा कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ।

उक्त सडकलाई प्रदेश सरकारले “राजधानी मार्ग” नामक प्रादेशिक गुरुयोजनामा राखेको छ। काठमाडौँतर्फको केही भाग भने अझै कालोपत्रे हुन बाँकी रहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१