• २०८३ असार २८
  • 2026 July 12, Sunday

प्रहरीलाई ओलीको निर्देशन: राणा र पञ्चायतीकालमा जस्तो फसाउने र यातना दिने काम नगर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासक होइन, जनताको सेवकको भूमिकामा काम गर्न निर्देशन दिएका छन्। जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निर्मित भवन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले प्रहरीलाई न्यायसंगत र इमान्दारीपूर्ण रूपमा काम गर्नुपर्नेमा जोड दिए।

ओलीले भने, “राणा शासन र पञ्चायती व्यवस्थाको समयमा झूटो आरोप लगाएर मानिसलाई फसाउने र यातना दिने कार्य हुन्थ्यो, तर अहिले पनि केही तत्वहरूले अराजकता फैलाउने प्रयास गरिरहेका छन्। यसबाट सतर्क रहनुपर्छ।”

प्रधानमन्त्रीले अराजकता फैलाउने तत्वहरूले लोकतन्त्रमा कुनै योगदान नराख्ने भन्दै समाज र राष्ट्रले झूटो बोल्ने तत्वलाई सजाय दिनुपर्ने बताए। उनले नेपाली सेनाले राष्ट्र सुरक्षा जस्तै, नेपाल प्रहरीले पनि आफ्नो दक्षता र योग्यता प्रयोग गरेर जनतालाई इमान्दारीपूर्वक सुरक्षा र सेवा प्रदान गर्नुपर्ने बताए।

साथै, देशमा बढ्दो आपराधिक गतिविधि, चोरी–डकैती, लागुऔषध प्रयोग, सीमा क्षेत्रमा हुने तस्करी, मानव ओसारपसार र राजस्व चुहावट नियन्त्रणमा प्रहरी संगठनले गम्भीरता पूर्वक लाग्नुपर्ने उल्लेख गरे।