
भैरहवा कारागारबाट काठमाडौँको नख्खु जेलमा सरुवा भएका रास्वपा सभापति रवि लामिछाने ‘भुईँको टिप्न खोज्दा हातको पनि गुम्ने जोखिम’ मा त छैनन् भन्ने प्रश्न उठेको छ ।केही महिना अघि देखी लामिछाने आफैँले भैरहवाबाट काठमाडौँ सरुवा हुनु पर्ने माग राखेका थिए, तर सरकारले आदेश कार्यान्वयनमा ढिलाइ गरेपछि हिजो मात्रै उनलाई काठमाडौँ ल्याइएको हो।
शनिवार साँझ नख्खु कारागार पुर्याइएका रविको पहिलो रात ४१४ जना कैदीहरूसँगै बितेको छ । भैरहवामा जस्तो रविलाई भनेर कुनै छुट्टै कोठा नख्खुमा भने व्यवस्था गरिएको थिएन । यसरी दुई वटा पङ्खा सहित भैरहवा कारागारमा बसेका रविलाई नख्खु कारागारको पहिलो रात अन्य कैदिहरुसंगैको ब्लकमा कोचिएको छ ।
तर नख्खु कारागारका जेलर भीम कोइरालाका अनुसार लामिछानेको सुरक्षा र स्वास्थ्यको ख्याल गरेर आजदेखि उपयुक्त स्थानमा राखिनेछ।
कारागार स्रोतका अनुसार लामिछानेले ‘सिङ्गल रुम’ पाउने छन्। छुट्टै कोठा पाए पनि रविले उक्त कोठामा भैरहवाको जस्तो दुई वटा बेड र दुई वटा पङ्खाको सुविधा भने पाउने छैनन् । उनले पाउने कोठामा सुत्ने खाट मात्र उपलब्ध हुनेछ। एसी, पङ्खा, कुलर जस्ता सुविधा कारागारले उपलब्ध गराउने छैन। यस्ता सुविधाका लागि मन्त्रालय वा कैदीले अलग्गै व्यवस्था गर्नुपर्नेछ।
यसरी भैरहवामा कमसेकम पङ्खा लगायतका अन्य सुविधा पाइरहेका रविले नख्खु सरुवा पछि ती सुविधा पनि नपाउने कारागार स्रोतले पुष्टि गरेको छ ।
भैरहवा कारागारमा उनले दुई वटा पङ्खा, फोन र छुट्टै शौचालयको सुविधा पाएका थिए। नख्खुमा पनि कारागार ऐन, नियमावलीअनुसार मात्र सुरक्षा, स्वास्थ्य र आवश्यक सुविधा उपलब्ध गराइने जेलर कोइरालाले बताएका छन्। बाहिरी कुनै सुविधा वा सामान कारागार प्रशासनको अनुमति बिना लैजान पाइँदैन। स्वास्थ्य समस्या परे सरकारी अस्पतालमा भर्ना र निश्चित समयमा फोन प्रयोग गर्ने सुविधा मात्र दिइनेछ।
रविको जेल सरुवा हुँदै गर्दा उनका पक्षमा हजारौँ समर्थकहरू सडकमा उर्लिएका थिए । भैरहवामा रविलाई बिदाइ गर्दा भएको भिड काठमाडौँमा उत्रिँदै गर्दा पनि देखिएको थियो ।