सांस्कृतिक सम्पदाको अधिकतम उपयोग गर्न महासचिव शंकर पोखरेलको आह्वान

नेपालका बौद्धिक तथा राजनीतिक व्यक्तित्वहरूले देशको अद्वितीय सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाको उचित प्रवर्द्धन र उपयोग गरी सांस्कृतिक कूटनीतिमार्फत नेपाललाई विश्वमा एक समृद्ध र प्रभावशाली राष्ट्र बनाउन सकिनेमा जोड दिएका छन्।

नेपाल बौद्धिक परिषद्ले आयोजना गरेको सांस्कृतिक कूटनीति: नेपालको विश्वव्यापी पहिचान प्रवर्द्धन विषयक विचार गोष्ठीमा बोल्दै वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको पर्यटकीय क्षमता अभिवृद्धि गर्न यहाँका सांस्कृतिक सम्पदाहरूको अधिकतम उपयोग गर्नुपर्ने बताए।

उनले भने, “हामीले हाम्रो सत्कार संस्कृतिको गुणस्तर बढाउनुपर्छ र पर्यटन पथप्रदर्शकहरूलाई हाम्रा सांस्कृतिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूबारे विस्तृत जानकारी दिनुपर्छ, जसले गर्दा पर्यटकहरूले गहिरो अनुभव लिन सकून्।”
परिषद्का अध्यक्ष ई. राजेन्द्र प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँले कार्यपत्र प्रस्तुत गरेका थिए। डा. चापागाईँले आफ्नो कार्यपत्रमा गौतम बुद्ध र शिवको जन्मभूमिका रूपमा नेपाललाई विश्वभर प्रवर्द्धन गरी ठूलो संख्यामा रहेका बौद्ध र हिन्दु धर्मावलम्बीहरूलाई आकर्षित गर्न सके पर्यटन उद्योगमार्फत नै समृद्ध नेपाल निर्माणको ढोका खुल्ने विचार व्यक्त गरे।

कार्यपत्रमाथि इतिहास तथा संस्कृतिविद् डा. गोपाल धौबञ्जार तथा पूर्व राजदूतहरू डा. अर्जुन कार्की र डा. बशिधर मिश्रले टिप्पणी गरेका थिए। उनिहरूले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई कूटनीतिक माध्यमबाट विश्वसामु प्रस्तुत गरेर देशको छवि उच्च बनाउन र नेपाललाई एक प्रभावशाली राष्ट्रमा रूपान्तरण गर्न सकिने साझा धारणा व्यक्त गरे।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१