
काठमाडौँ । सौर्य जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै पीडित परिवारले गृहमन्त्रीलाई भेट गरी मागपत्र प्रस्तुत गरेको छ ।
सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाँइ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले गृहमन्त्री रमेश लेखकलाई भेटेर रतिश चन्द्र लाल नेतृत्वको सरकारी आयोगले अपुरो प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको भन्दै दुर्घटनाको न्यायिक जाँच गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरेका हुन ।
पत्रकार खतिवडाले प्रस्तुत गरेको मागपत्रमा सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएकोले न्यायिक जाँच आयोग गठन गर्न माग गरेको बताए । सौर्य जहाज यति ठूलो मानवीय लापरवाही र गम्भिर त्रुटिले दुर्घटना भएको पुष्टि हुँदा पनि कुन कानुन अनुसार कारबाही हुने भन्ने अन्यौल रहेकोले न्याय निरुपण कसरी गर्ने भन्ने विषयलाई सम्बोधन गर्न न्यायिक जाँच आवश्यक रहेको पत्रकार खतिवडाको माग पत्रमा उल्लेख छ ।
लाल आयोगको सरकारी प्रतिवेदनले दुर्घटनाको कारण मानवीय त्रुटि हो भन्ने किटानीका साथ निष्कर्ष प्रस्तुत गरेको तर प्रतिवेदनलाई अदालती प्रमाणको रुपमा प्रस्तुत गर्न नपाईने भन्ने उल्लेख गरेकोले पीडितको न्याय एवं तथ्य, प्रमाण र घटनाको वास्तविकतालाई सुनिश्चित गर्न न्यायिक जाँच आवश्यक रहेको माग पत्रमा जनाईएको छ ।
रतिशचन्द्रलाल नेतृत्वको सरकारी जाँच आयोग कानुनले तोकिएको योग्यता नपुगेका व्यक्तिहरुलाई राखेर आयोग गठन गरिएको र अयोगले मुख्य दोषिलाई उन्मुक्ति दिने आसयको नियोजित प्रतिवेदन तयार गरेको भन्ने प्रश्न उठेको र आयोगको जाँच अनुसन्धानको प्रकृया, निष्कर्ष एवं विश्वसनियता उपर थप जाँच गर्नुपर्ने अवस्था रहेकोले समेत न्यायिक जाँच आवश्यक रहेको खतिवडाले माग पत्रमा दावी गरेका छन् ।
पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन मौन रहेकोले न्याय र क्षतिपूर्ति शुनिश्चित गर्न न्यायिक जाँच गर्नु पर्ने खतिवडाको माग छ । सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएको जनाउदै खतिवडाले ‘फेरी’ उडानका विषयमा प्रतिवेदनमा उल्लेख भएको तर ३४ दिन देखि ग्राउण्डेड मर्मत गर्न लगिएको गैरव्यावसायिक ‘फेरी उडान’ मा व्यावसायिक उडान सरह यात्रु बोकेर गैरकानुनी उडान किन गरियो प्रतिवेदनले स्पष्ट नगरेको जिकिर गरेका छन ।
लाल आयोगको सरकारी प्रतिवेदनमा‘फेरी’उडानमा कम चालक दलका सदस्यसहित मर्मतसँग सम्बन्धीत प्राबिधिक बोक्न सकिने उल्लेख भएको तर बालकसहित मर्मतसँग असम्बन्धीत गैरकानुनी यात्रु किन बोकीयो स्पष्ट नगरेको र चार वर्षे वालक तथा उर्जा मन्त्रालयमा कार्यरत कर्मचारीलाई एयरलाइन्स कम्पनीको कर्मचारी बनाउने एयरलाइन्स कम्पनीको गैरकानुनी हरकतको विषयमा प्रतिवेदनमा उल्लेख नभएको खतिवडाले गृहमन्त्रीलाई बुझाएको मागपत्रमा उल्लेख छ ।
सरकारी प्रतिवेदनले काठमाडौँमा बिग्रिएको जहाज पाखरामा मर्मतगर्न लानुको औचित्य पुष्टि गर्न नसकेको, शुरु देखि नै क्यानको दवाबमा जहाज पोखरा लगिएको भन्ने प्रश्न उठेको तर यस विषयमा प्रतिवेदन मौन रहेको खतिवडाको भनाइ छ ।
सरकारी प्रतिवेदनमा एयरलाइन्स कम्पनी र नियामक निकायले कानुन,कार्यबिधि, सञ्चालन म्यानुअल र ग्राउण्ड ह्याण्डलिङ म्यानुअल पालन नगरेको विषय उल्लेख भएको तर कानुनको पालनामात्र गरेको भए १८ जनाको ज्यान जाने थिएन भन्ने तथ्यलाई उजागर गर्न नसकेको र सरकारी प्रतिवेदनको २९ बुदे निष्कर्षले जानाजान गरिएको मानवीय त्रुटिले दुर्घटना भएको निष्कर्ष प्रस्तुत गरेको तर मुख्य मानवीय कारक को हो भन्ने विषय स्पष्ट नगरेकोले दोषिको पहिचान गरि कानुनी दायरामा ल्याउन न्यायिक जाँच आयोग गठन आवश्यक रहेको बताइएको छ ।
एक वर्ष लगाएर तयार गरेको सरकारी आयोगको प्रतिवेदनले विश्वमा ९९ प्रतिशत शुरक्षित हवाई यात्रा नेपालमा किन असुरक्षित छ र किन बारम्बार दुर्घटना भईरहन्छ भन्ने तथ्य उजागर गर्न नसकेको, राज्यकोषको लाखौको खर्च गरेर अनुसन्धान गरेको आयोगले बारम्बारको दुर्घटनालाई रोक्न के उपाय गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदनमा सिफारिस गर्न नसकेको उल्लेख छ ।
सरकारी आयोगले तयार पारेको प्रतिवेदको प्रस्तावनामा जाँच अनुसन्धान भविश्यमा अर्को दुर्घटना नहोस भन्नका लागि गरिएको भनिएको तर विमानस्थल, बिमान कम्पनीहरु तथा नियामक निकायमा रहेका समस्या र बेथितीलाई उजागर गरी आन्तरिक हवाइ सुरक्षा सुदृढ गर्न आवश्यक सुझाव दिन नसकेको माग पत्रमा खतिवडाले उल्लेख गरेका छन् ।
तथ्य र प्रमाणले सौर्य जहाज दुर्घटना मात्र होइन भन्ने पुष्टि भएकोले आयोगको सुरक्षा अनुसन्धानले मात्र तथ्यमा पुग्न नसकेको अवस्थालाई मध्य नजर गर्दै ICAO द्वारा जारी Annex-13 को प्रावधान र गैर सैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम सौर्य जहाज दुर्घटनाको सुरक्षा अनुसन्धानलाई अपराध अनुसन्धान तर्फ केन्द्रित गर्न न्यायिक जाँच आयोग गठन गर्न खतिवडाले माग गरेका छन् ।
खतिवडाको मागपत्र बुझ्दै गृहमन्त्री रमेश लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आवश्यक पहल गर्ने आश्वासन दिएको पत्रकार खतिवडाले बताए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ०८१ साउना ९ गते सौर्य जाहाज दुर्घटना भएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्यन प्राधिकरणका पूर्व महानिदेशक रतिशचन्द्रलालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । दुर्घटनामा खतिवडाका तीन सन्तती सहित १८ जनाको ज्यान गएको थियो ।