
सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि पनि आफू पछि नहट्ने अडानमा रहेकी पूर्वराष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन गर्न लागेकी छन्।
च्यासलमा रोकावट आएपछि उनले बानेश्वर, थापागाउँस्थित लाखेचौर मार्गको चारतले रातो घर भाडामा लिएर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरेकी हुन्। यही घरलाई ‘मदन भण्डारी हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रूपमा सार्वजनिक गरिएको छ।
दिउँसो २ बजे हुने उद्घाटन कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत सम्बोधन गर्नेछन्। प्रारम्भिक छलफलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथि बनाउने योजना भए पनि समय अभावका कारण अन्ततः भण्डारी स्वयंले उद्घाटन गर्ने भएकी हुन्। अन्य एमाले नेताहरूलाई पनि निमन्त्रणा दिइएको छ।
४५ वर्षदेखिको आफ्नो सदस्यता खोस्न कसैले नसक्ने बताउँदै भण्डारीले अब मदन भण्डारी फाउन्डेसनमार्फत देशभर कार्यकर्ता र नेताहरूसँग सम्बन्ध विस्तार गर्ने रणनीति लिएकी छिन्।
उनीले रोजेको यो घरलाई ऐतिहासिक मानिन्छ, किनकि २०४८ सालको चुनावमा मदन भण्डारीले यही घरलाई प्रचार केन्द्र बनाएर तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौं-१ बाट पराजित गरेका थिए। त्यसपछि २०५१ सालको चुनाव प्रचारमा पनि विद्यादेवीले यही भवन प्रयोग गरेकी थिइन्।
निकट नेताहरूका अनुसार भण्डारी नियमित रूपमा कार्यालयमा उपस्थित भई नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाट गर्दै आफ्नो राजनीतिक यात्रा सक्रिय बनाउन चाहन्छिन्।