नक्कली सर्टिफिकेट प्रकरणमा रास्वपाका नेता कँडेलमाथि आरोप

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । नेपाल र भारतका विश्वविद्यालयहरुको नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन् ।

चितवनको कालिका नगरपालिका ५ पदमपुरका कँडेललाई गत भदौ ४ गते रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको हो । हाल उनलाई रुपन्देही लगिएको छ । रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा अनुसन्धान भइरहेको बताए ।

रूपन्देही प्रहरीले बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरेको थियो । यादवको बयानको आधारमा कँडेललाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवलाई पक्राउ गर्ने क्रममा प्रहरीले विश्वविद्यालयका नक्कली सर्टिफिकेट बनाउन प्रयोग हुने सामाग्रीहरुसमेत बरामद गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१