अविरल वर्षाले देशभरका राजमार्ग अवरुद्ध, कहाँ कस्तो छ अवस्था ? (सूचीसहित)

अविरल वर्षाका कारण देशभर बाढी र पहिरो गएपछि प्रमुख राजमार्गहरूमा आवागमन अवरुद्ध भएको छ। नेपाल प्रहरीले शनिबार बिहान दिएको विवरणअनुसार, कोशीदेखि सुदूरपश्चिमसम्मका धेरै सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी रूपमा सञ्चालन भइरहेका छन्।

कोशी प्रदेशको संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ बरुणमा कोशी राजमार्ग बन्द भएको छ। तेह्रथुमको लालीगुँरास नगरपालिका–७ तिनधुरेमा रोकिएको मध्यपहाडी लोकमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ।

बागमती प्रदेशमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा गएको पहिरोले नेपाल–चीन नाका जोड्ने पुल अवरुद्ध भएको छ भने सोही पालिकाको अन्य स्थानमा बाढीले पासाङल्हामु सडक पूर्ण रूपमा बन्द गरेको छ। मकवानपुरको भिमफेदी क्षेत्रमा पनि पहिरो गएपछि त्रिभुवन राजपथ र कान्ति लोकपथ दुवै अवरुद्ध छन्। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीमा पहिरोले अरनिको राजमार्ग बन्द हुँदा काठमाडौँ–नुवाकोट सडक एकतर्फी सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशका बागलुङ, नवलपरासी (पूर्व) र तनहुँमा बाढी–पहिरोका कारण कालीगण्डकी करिडोर र पृथ्वी राजमार्गका केही खण्डमा सवारी आवागमन एकतर्फी मात्र भइरहेको छ। लुम्बिनी प्रदेशमा दाङको राप्ती राजमार्ग पनि आंशिक रूपमा सञ्चालनमा छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीले जाजरकोट–डोल्पा–भेरी करिडोर सडक बन्द भएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशमा दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तेरछर्यालेकमा गएको पहिरोका कारण गोकुलेश्वर–दार्चुला सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१