• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

देवरानी–जेठानीबीच झगडा र कुटपिट, गर्भवती महिलाको पाँच महिनाको गर्भ खेर

सप्तरी । खडक नगरपालिका–७, कल्याणपुरमा इँटा राख्ने विवादले दुई देवरानी–जेठानीबीच झगडा र कुटपिट हुँदा एक गर्भवती महिलाको पाँच महिनाको गर्भ खेर गएको छ।

गएको बिहीबार बिहान १० बजे ४० वर्षीया जिबछी देवी साह र ३५ वर्षीया ललिता देवी साहबीच बाटोमा इँटा राख्ने विषयमा वादविवाद भएको थियो। विवाद चर्किंदै कुटपिटमा परिणत भएपछि ललिता साहको पेटमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते ललिता सुरुमा घरमै थिइन् तर पछि पेट दुखाइ बढेपछि उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज लगिएको थियो। अस्पतालमा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले कुटपिटकै कारण गर्भ खेर गएको जानकारी दिए। आरोपी जिबछी देवी साह हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, कल्याणपुरबाट खटिएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।