• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

एकीकृत समाजवादीले साझा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रीत गर्ने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रीत गर्ने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार बसेको सचिवालय बैठकले महानगरपालिकादेखि वडा तहसम्म गठबन्धनका साथै पार्टीकातर्फबाट एकल उम्मेदवारी दिएका व्यक्तिलाई जिताउन भूमिका निर्वाह गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

गठबन्धन नभएका र एकल उम्मेदवार नभएका स्थानमा गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिम समयसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले हालै जारी गरेको घोषणापत्रमा पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म विजुली निःशुल्क दिने र यसका लागि सङ्घीय तथा प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गर्ने उल्लेख छ ।