अछाममा महिनावारी भएकाबेला त्रिपालमा सुतेका आमा छोरीको मृत्यु

अछामको पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलमा शुक्रबार बिहान भएको दुर्घटनामा महिनावारी भएका बेला त्रिपालमा सुतिरहेका तीनमध्ये दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छिन्।

शुक्रबार बिहान साढे ५ बजे पहिरोसँगै भीरबाट खसेको ढुङ्गाले लाग्दा ७ वर्षीया कविता भण्डारी र ३५ वर्षीया निम खनालको घटनास्थलमै ज्यान गएको हो। गम्भीर घाइते भएकी ३६ वर्षीया रत्ना भण्डारीलाई उपचारका लागि बारला स्वास्थ्य चौकीमा पुर्‍याइएको छ र थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको छ।

तीनै जना घरदेखि करिब ५० मिटर टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतिरहेका थिए। प्रहरीका अनुसार उनीहरू महिनावारी भएका कारण घरबाट बाहिर बस्न बाध्य भएका थिए।

घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको छ। त्यहाँ पुग्न करिब दुई घण्टा पैदल यात्रा गर्नुपर्ने छ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ओमप्रकाश खनालका अनुसार, मृतक कविता भण्डारी घाइते रत्ना भण्डारीकी छोरी हुन्। रत्ना भण्डारीका श्रीमानको एक वर्षअघि निधन भइसकेको छ। अब उनका बाँकी तीन सन्तान (दुई छोरी, एक छोरा) टुहुरा बनेका छन्।

डिएसपी खनालले बताएअनुसार महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने परम्परा अझै पनि रहँदै आइरहेको छ। ‘यहाँ जति कार्यक्रम चलाए पनि स्थानीयमा रहेको गहिरो अन्धविश्वास हटाउन चुनौती छ। यसकै कारण महिलाहरूले जोखिम मोलेर असुरक्षित ठाउँमा बस्दा ज्यान गुमाउनुपरेको छ,’ उनले भनेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१