• २०८३ असार २७
  • 2026 July 11, Saturday

ओली नेतृत्वको विकल्प छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन्। गोदावरी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले देशमा ओलीको विकल्प नरहेको उल्लेख गरे।

“संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले पहिलो नम्बरमा छ,” पोखरेलले भने। उनले ७० वर्ष उमेर सीमा ओलीका लागि मात्र नभई सबैका लागि लागू हुने स्पष्ट पार्दै, नेतृत्व क्षमताका कारण ओली नै राष्ट्रका लागि उत्तम विकल्प भएको बताए।

भारतको नाकाबन्दीको बेला ओलीकै नेतृत्वमा दृढतापूर्वक सामना गरिएको स्मरण गराउँदै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्ने साहस ओलीबाहेक अरूमा नभएको जिकिर गरे।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा पोखरेलले संविधान अनुसार राष्ट्रपतिको गरिमामय भूमिका रहेको उल्लेख गर्दै पार्टीले सधैं सम्मानजनक व्यवहार गर्ने बताए।

कार्यक्रममा स्थायी कमिटी सदस्य राजन भट्टराईले पार्टीभित्र निराशाको अवस्था नरहेको भन्दै एकता र समर्पणले आगामी सफलताको ढोका खोल्ने धारणा राखे।

नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमा हुनु नगरवासीका लागि गौरवको विषय भएको बताए। कार्यक्रममा पोलिट्ब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य बाबुराम थापा, मन्त्री मधुसुदन पौडेल, सांसद प्रेमबहादुर मर्हजनलगायत नेताहरूको उपस्थिति रहेको थियो।