• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपाल सदस्य बन्न चाहेको एससीओ कस्तो संंगठन हो ?

सदस्य बने नेपाललाई के लाभ?

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटमा नेपाललाई एससीओ भनिने शाङ्घाई सहयोग सङ्गठनको सदस्य बनाउनका लागि सहयोग गर्न प्रस्ताव गरेका छन् । एससीओको शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन शहर पुगेका प्रधानमन्त्री ओलीले शनिबार राष्ट्रपति सीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा सो प्रस्ताव गरेका हुन् । सन् २०१५ मा नेपालले एससीओको डाइलग पार्टनर अर्थात् संवाद साझेदारको दर्जा प्राप्त गरेको थियो । त्यसयता सोही हैसियतमा एससीओको शिखर सम्मेलनहरूमा सहभागी हुँदै आएको छ । एससीओको संवाद साझेदारमा नेपालसहित श्रीलङ्का, टर्की, अजरबैजान, आर्मेनिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, इजिप्ट, कुवेत, कम्बोडिया, मालदिभ्स र म्यानमार गरी १४ राष्ट्र छन्।

एससीओ कस्तो सङ्गठन हो ?
एससीओलाई विश्वको एक महत्त्वपूर्ण एवं शक्तिशाली क्षेत्रीय सङ्गठन मानिन्छ । चीन, रुस, ताजिकिस्तान, उज्बेकिस्तान, इरान, कजाकस्तान, किर्गिस्तान, बेला रुस भारत र पाकिस्तान गरी १० सदस्य राष्ट्र छन् । सदस्य देशहरू बिचको सम्बन्ध सुदृढ पार्दै क्षेत्रीय शान्ति, सुरक्षा र स्थिरताको रक्षा गर्नु र आर्थिक, राजनीतिक, सांस्कृतिक, प्राविधिक लगायतका क्षेत्रमा सहकार्य गर्नु यसका प्रमुख उद्देश्य हुन् । यस सङ्गठनले विश्व जनसङ्ख्याको करिब ५० प्रतिशत, विश्व भूभागको एक चौथाइ, विश्वको २० प्रतिशत इन्धनको सञ्चिति र विश्व जिडिपीको एक चौथाइ भाग ओगट्छ ।

एससीओ कसरी सुरु भयो ?
सन् १९९१ को डिसेम्बरमा सोभियत सङ्घको विघटन र शीतयुद्धको अन्त्य पछि देशहरू बिच सीमा विवाद सुरु भयो । सोही परिपक्ष्यमा सन् १९९६ मा रुस, चीन र काजकिस्तान, किर्गिस्तान र ताजिकिस्तान बिच ुशाङ्घाई फाइभु नामक सीमासम्बन्धी एक सन्धि भयो । सोही सन्धिको जगमा सन् २००१ मा एससीओ सुरुवात भएको हो। पछि छैटौँ सदस्यका रूपमा उज्बेकिस्तान पनि एससीओमा आबद्ध भयो । यस्तै, सन् २०१७ मा भारत र पाकिस्तान, सन् २०२३ मा इरान र सन् २०२४ मा बेला रुस सदस्य बनेपछि हाल एससीओ १० सदस्य बनेको छ ।

एससीओ सदस्य बने नेपाललाई हुने लाभ
नेपालले सन् २०१६ बाटै एससीओको सदस्य बन्ने चाहना राख्दै आएको छ । विज्ञहरूका अनुसार एससीओ जस्तो विश्वकै एउटा महत्त्वपूर्ण र शक्तिशाली क्षेत्रीय सङ्गठनका सदस्य हुँदा त्यसबाट नेपालले धेरै कुरामा लाभ उठाउन सक्छ । मञ्चले दुवै छिमेकी भारत र चीनसँगको सम्बन्धलाई सुदृढ पार्न कूटनीतिक अवसर प्रदान गर्दछ । महत्त्वपूर्ण विषयहरूमा नेपालले आफ्नो धारणा र सन्देश प्रवाह गर्न पाउने छ । यीबाहेक, नेपालले व्यापार, पारवहन र लगानी, ऊर्जा, कृषि, साना तथा मझौला व्यापार, सुरक्षा मामिला, कानुन र भन्सारसम्बन्धी मामिला, यातायात र सञ्चार, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र विपद्को क्षेत्रमा सहयोगसँगै सहकार्य गर्ने अवसर प्राप्त गर्न सक्ने छ ।