रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले सार्वजनिक गरे सम्बन्ध विच्छेदको प्रमाण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका उम्मेदवार बनेका डा. लेखजंग थापाले पहिलो श्रीमतीसँगको सम्बन्ध विच्छेदको प्रमाण सार्वजनिक गरेका छन्।

२०७९ माघ १५ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशमा उनले पहिलो पत्नी सुलोचना घिमिरेसँग सहमतिमै डिभोर्स भएको अदालतको कागजात सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन्।

उम्मेदवारी चयन भएलगत्तै डा. थापामाथि बहुविवाहसम्बन्धी विभिन्न समाचारहरू बाहिरिएपछि उनले यसबारे स्पष्टीकरण दिएका हुन्। फेसबुक पोस्टमार्फत उनले भनेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा जति सत्य हो, त्यति नै सत्य पहिलो श्रीमतीसँग डिभोर्स पनि भएको हो। र त्योभन्दा ठूलो सत्य भनेको सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हुँ।”

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोटको प्रक्रियाका क्रममा थापासम्बन्धी बहुविवाहको सूचना पार्टीमा आएपछि आन्तरिक रूपमा त्यसको यथार्थ पुष्टि गरिएको थियो। उनका अनुसार पार्टीको टिमले पुष्टि गर्दा थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेको प्रमाण फेला परेको थियो।

बुर्लाकोटी भन्छन्, “उहाँले दुई वर्षअघि डिभोर्स गरिसकेको बताउनुभयो। हामीले प्रमाण हेरेर त्यसमा विश्वास गर्‍यौं। अहिले यस विषयलाई अनावश्यक रुपमा उछालिएको छ, जुन केवल अफवाह मात्रै हो।”

थापाको पहिलो पत्नी सुलोचना घिमिरे बीएससी नर्सिङ सकेर भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी श्रीमती नुमा शर्मा भने काठमाडौंमा बसोबास गर्छिन्।

महामन्त्री बुर्लाकोटीका अनुसार, पहिलो श्रीमतीबाट जन्मिएको बच्चा लेखजंगसँगै बस्ने भएकाले उनीहरूको सम्बन्ध सौहार्दपूर्ण रहनु स्वाभाविक हो। उनका शब्दमा, “डिभोर्सपछि झगडा, बोलचाल बन्द हुनैपर्छ भन्ने पुरानो सोच हो। अहिलेको समाजमा मित्रवत् सम्बन्ध रहनु अस्वाभाविक होइन।”

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ अञ्चलपुरका थापा रास्वपाले सञ्चालन गरेको प्राइमरी इलेक्सनमा सहभागिताका आधारमा उम्मेदवार चयन भएका हुन्।

उनले २०८० असार ७ मा पार्टी सदस्यता आवेदन दिएका थिए भने प्राविधिक कारणले त्यो सदस्यता २०८२ मा प्रमाणित भएको रास्वपाले जनाएको छ।

यसअघि, २०७९ को निर्वाचनमा डा. थापा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को तर्फबाट लुम्बिनी प्रदेश सभाको समानुपातिक सांसदको सूचीमा रहेका थिए।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१