
जीवनमा मानिसले आफ्नो बाटो आफैं छान्न सक्छ तर त्यस बाटोमा अघि बढ्न साथीभाइ र वातावरणले ठूलो प्रभाव पार्छ।
मानिसको सोच, स्वभाव र भविष्य उसले कुन संगत रोज्छ भन्ने कुराले धेरै निर्धारण गर्छ।
मैले पनि केही समयअघि दुईजिब्रे, कुरौटे, गालपारा, अधर्मी जस्ता पात्रसँग उठबस गर्न थालेँ। सुरुमा उनीहरूको संगत रमाइलो र स्वतन्त्रता जस्तो लाग्थ्यो। उनीहरूको बोलाइमा आकर्षण थियो, हाँसोठट्टामा मिठास थियो तर भित्रभित्रै ती सब कुरा खालीपनले भरिएका रहेछन्।
उनीहरूको दिनचर्या, जीवनशैली र व्यवहारले मलाई न त ज्ञान, न त इमानदारी, न त जिम्मेवारीको बाटो देखाइरहेका थिए। बरु समयको नोक्सानी, परिवारको निराशा र समाजको आलोचना मात्र बढाइरहेका थिए।
मलाई एकदिन झल्को आयो— “यदि मैले यही बाटो समाते भने मेरो भविष्य के हुन्छ? मेरो नाम समाजमा कसरी लिइनेछ? मेरो परिवारको आशा र भरोसा के हुनेछ?” यही आत्मसोधले मलाई झक्झक्यायो।
मैले अनुभव गरेँ कि खराब सङ्गतले केही समयको मजा त दिन सक्छ तर जीवनभरको मूल्य चुकाउनुपर्ने हुन्छ। त्यसपछि मैले साहस गरेर ठूलो निर्णय लिएँ— म ती सबैको सङ्गतबाट टाढा भएँ। सुरुमा केही कठिन भयो। उनीहरूले व्यंग्य गरे, उपहास गरे, “अब धर्मात्मा बनेछस् कि?” भनेर जिस्क्याए पनि मैले ध्यान दिइनँ। किनकि म बुझिसकेको थिएँ— असल बाटोमा लाग्नेले अलिकति तिर्सना सहनैपर्छ, तर अन्तिममा सफलताको स्वाद पाउँछ।
आज म ती सबैबाट टाढा छु। म फेरि नयाँ साथीहरू भेट्दैछु, जसले मसँग सकारात्मक कुरा गर्छन्, मिहिनेत र इमानदारीको बाटो देखाउँछन्। अब म आफ्नै लक्ष्यमा केन्द्रित छु— परिवारलाई गर्व दिलाउने, समाजमा इज्जत कमाउने, र आफ्नो जीवनलाई सार्थक बनाउने। यस अनुभवबाट मैले एउटा ठूलो पाठ सिकेँ— संगतले नै मानिसलाई चिन्न सकिन्छ। खराब संगतले असल मान्छेलाई पनि बिगार्छ भने असल संगतले बिग्रिएको मान्छेलाई सुधार्न सक्छ। त्यसैले जीवनमा साथी छनोट गर्दा कहिल्यै लापरबाही गर्नु हुँदैन।
संगतमा तौल हुन्छ। संगतले मान्छे उठाउँछ वा डुबाउँछ। त्यसैले मैले दुईजिब्रे–कुरौटेहरूको झुण्ड छोडेर आफ्नै बाटो रोजेँ।