
यस्तो डिजिटल प्रयोग नेपालका आन्दोलनमा नयाँ भने होइन। २०६२/६३ को जनआन्दोलनताका ब्लग र प्रारम्भिक फेसबुक पेजहरूले आन्दोलनलाई ऊर्जा दिएका थिए भने पछिल्ला वर्षहरूमा ट्विटर र टिकटकमा राजनीतिक अभियान चलेका थिए। तर यी प्लेटफर्ममा सुरक्षा र निजी छलफलको ग्यारेन्टी थिएन। डिस्कर्डले संरचित च्यानल, पासवर्ड वा इनभाइट–आधारित सर्भर, भ्वाइस मिटिङ र रोल–बेस्ड व्यवस्थापनमार्फत यसलाई अझै सङ्गठित बनाइदियो। यही कारण धेरैले जेन्जी आन्दोलनलाई नेपालको पहिलो डिजिटल आन्दोलनको रूपमा व्याख्या गर्न थालेका छन्।
अन्तरिम सरकारको नेतृत्व चयनबारे भएको छलफलमा समेत डिस्कर्डको प्रयोग खुलेर देखियो। देश तथा विदेशमा रहेका नेपाली युवा, स्वतन्त्र अभियन्ता र आन्दोलनका अगुवाहरूबिच लामो विचार–विनिमय यही प्लेटफर्ममा सम्भव भयो। यसले युवाहरूको आवाजलाई प्रत्यक्ष रूपमा निर्णय प्रक्रियासम्म पुर्याउने काम गर्यो। विशेषगरी टाढा रहेका प्रवासी नेपालीहरूले पनि समय फरक भए तापनि यही माध्यमबाट आन्दोलनमा सक्रिय सहभागिता जनाउन सके। यसरी प्रवासी र स्वदेशी युवाबीचको दुरी डिस्कर्डमार्फत घट्यो र आन्दोलनमा थप ऊर्जा आयो।
विभिन्न देशमा डिस्कर्डको प्रयोग
२०१५ मा सजिलो भ्वाइस च्याट उपलब्ध गराउन बनाइएको यो एप छोटो अवधिमै मनोरञ्जनबाट बाहिर निस्केर शिक्षा, व्यवसाय र राजनीतिक–सामाजिक आन्दोलनसम्म फैलियो। अमेरिकाको क्यालिफोर्निया, सान फ्रान्सिस्कोमा स्थापना भएको डिस्कर्ड सुरुमा केवल गेम खेल्नेहरूलाई लक्षित गरिएको थियो। तर सुरक्षित च्याट र भ्वाइस च्यानलका कारण यसले छिट्टै व्यापक प्रयोगकर्ता आकर्षण गर्यो। हाल विश्वभर मासिक १५० मिलियनभन्दा बढी प्रयोगकर्ता सक्रिय छन्, जसले यसलाई फेसबुक वा ट्विटरभन्दा फरक खालको ‘कम्युनिटी–बिल्डिङ टुल’ बनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा पनि डिस्कर्ड राजनीतिक र सामाजिक आन्दोलनमा प्रयोग भएको देखिन्छ।
हङकङको लोकतान्त्रिक आन्दोलनमा प्रदर्शनकारीहरूले गोप्य संवादका लागि डिस्कर्ड सर्भर प्रयोग गरेका थिए।
अमेरिकामा विद्यार्थीहरूले बन्दुक नियन्त्रणसम्बन्धी आन्दोलनका क्रममा यही प्लेटफर्मलाई मुख्य सम्पर्क साधन बनाएका थिए।
युरोपका श्रमिक आन्दोलनहरूले समेत सङ्गठनात्मक छलफलमा डिस्कर्डलाई रोजेका उदाहरण भेटिन्छन्।
नेपालमा पनि त्यही प्रवृत्ति प्रत्यक्ष देखिनु डिजिटल राजनीतिक अभ्यासको नयाँ अध्याय मानिन्छ। सडक मात्र होइन, अनलाइन स्पेस पनि सङ्घर्षको मैदान हुन सक्छ भन्ने कुरा प्रमाणित भएको छ।