• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

जयनारायण कौशल्या संस्कृत गुरुकूलम्मा सिवाईसी नेपालद्वारा पोषाक वितरण

बागलुङ । चारतारे युवा क्लब, सिवाईसी नेपालद्वारा बागलुङ नगरपालिका वडा नं. ६ मा अवस्थित जयनारायण कौशल्या संस्कृत गुरुकूलम्मा अध्ययनरत विद्यार्थीलाई २५ थान पोषाक वितरण गरेको छ ।

संस्थाले, संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत गरिएको सो वितरणमा २५ जना छात्रलाई करिब ३० हजार रुपैयाँ बराबरको पोषाक प्रदान गरिएको थियो ।

पोषाक हस्तान्तरण कार्यक्रममा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. मालिका सदस्य सेवा केन्द्रका प्रतिनिधि, स्थानीय अभिभावक तथा गुरुकुल परिवारको उपस्थिति थियो । वक्ताहरूले सिवाईसी नेपालले शिक्षाको क्षेत्रमा निरन्तर पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यस किसिमको सहयोगले विद्यार्थीहरूको शैक्षिक वातावरणमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका क्रममा गुरुकुल सञ्चालिका गीता अधिकारीले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले विद्यार्थीलाई आत्मबल र प्रेरणा प्रदान गर्ने धारणा राखिन् ।
चारतारे युवा क्लब, सिवाईसी नेपालले शिक्षासँगै सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।