• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

मारिया कोरिना माचाडोले जितिन् २०२५ को नोबेल शान्ति पुरस्कार

काठमाडौं । सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मरिया कोरिना माचाडोलाई प्रदान गरिएको छ। नोबेल कमिटीले भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारका लागि शान्तिपूर्ण तरिकाले संघर्ष गर्दै तानाशाही शासनविरुद्ध दृढतापूर्वक आवाज उठाएको योगदानका कारण माचाडोलाई यस वर्षको पुरस्कार दिने घोषणा गरेको हो।

नोबेल कमिटीले सामाजिक सञ्जाल एक्स (X) मार्फत सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ, ‘मरिया कोरिना माचाडोलाई भेनेजुएलामा लोकतान्त्रिक अधिकार र स्वतन्त्रताको पक्षमा निरन्तर आवाज उठाउँदै तानाशाहीविरुद्ध अहिंसात्मक तरिकाले संघर्ष गरेको कारण यो पुरस्कार प्रदान गरिएको हो।’

नोबेल शान्ति पुरस्कारको घोषणा यसपटक निकै चासोका साथ हेरिएको थियो। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई पटक–पटक पुरस्कारका संभावित उम्मेदवारका रूपमा प्रस्तुत गरेका कारण पनि यस वर्षको घोषणा विशेष बन्यो। ट्रम्पले हालै गाजामा हमास र इजरायलबीच पहिलो चरणको युद्धविराम घोषणा गराएका थिए।

नोबेल कमिटीका अध्यक्षले माचाडोलाई सम्मानित गर्दै भने, ‘गहिरो अन्धकारबीच लोकतन्त्रको ज्योति बालिराख्ने साहसिक नेतृको रूपमा मरिया कोरिना माचाडोले लाटिन अमेरिकामा अभूतपूर्व उदाहरण प्रस्तुत गरेकी छिन्।’

कमिटीको वक्तव्यमा थप भनिएको छ, ‘लोकप्रिय शासन र स्वतन्त्रताको सिद्धान्तको रक्षा गर्नु लोकतन्त्रको मूल मन्त्र हो। जब लोकतन्त्र जोखिममा पर्छ, त्यही बेला उसको रक्षा गर्नु सबैभन्दा जरुरी हुन्छ।’

मरिया कोरिना माचाडो भेनेजुएलाको राजनीतिमा चर्चित नाम मानिन्छिन्। उनी लामो समयदेखि देशमा स्वतन्त्रता, न्याय र मानवअधिकारका पक्षमा आवाज उठाउँदै आइरहेकी छिन्। माचाडोलाई प्रदान गरिएको यो नोबेल शान्ति पुरस्कारले ल्याटिन अमेरिकी राजनीति र लोकतन्त्रका आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा थप बल मिल्ने विश्लेषण गरिएको छ।