काठमाडौं । सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी प्रजातन्त्रवादी नेतृ मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ। नर्वेली नोबेल समितिले लोकतान्त्रिक अधिकारहरूको संरक्षण र निरङ्कुश शासनविरुद्ध शान्तिपूर्ण तरिकाले लडाइँ लड्ने उनको साहस र नेतृत्वको सम्मानस्वरूप यो पुरस्कार दिने निर्णय गरेको हो।
सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत समितिले मचाडोलाई ‘तानाशाहीका अगाडि पनि लोकतन्त्रका पक्षमा दृढ भएर उभिएकी साहसी नेतृ’ भन्दै सम्मान गरिएको जनाएको छ। समितिले भनेको छ, ‘गहिरिँदो अन्धकारबीच लोकतन्त्रको ज्योति जलाइरहेकी एक महिलालाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिँदैछ।’
५८ वर्षीया मचाडो लामो समयदेखि राष्ट्रपति निकोलस मदुरोको शासनविरुद्ध लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्दै आएकी छन्। सन् २०२४ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न नदिएपछि उनी भूमिगत रहेर आन्दोलन सञ्चालन गर्दै आएकी थिइन्। भेनेजुएलामा उनी लोकप्रिय विपक्षी नेतृका रूपमा चिनिन्छिन्, जसले हजारौँ जनतालाई सडक र मतदान केन्द्रमा उतार्ने क्षमता देखाएकी छिन्।
नोबेल समितिले घोषणा गर्नु केही मिनेटअघि मचाडोलाई फोन गरेर जानकारी दिएको भिडियो सार्वजनिक गरेको छ। जानकारी सुनेपछि उनी भावुक हुँदै पाँच पटक ‘ओ माइ गड’ भन्दै प्रतिक्रिया जनाउँछिन्। उनले भनिन्, ‘मसँग शब्द छैन। यो पूरै समाजको उपलब्धि हो। म त केवल एक व्यक्ति हुँ। म यो सम्मानका लागि योग्य छैन।’
उनको पहिलो प्रतिक्रिया कैद भएको भिडियो समाचार एजेन्सी एएफपीलाई पठाइएको छ। भिडियोमा मचाडोले भनिरहेकी छन्, ‘म त छक्क परेँ।’
नोबेल समितिका अध्यक्ष योर्गन भ्याट्न फ्रुएड्नसले पत्रकार सम्मेलनमा भने, ‘मचाडो हालका वर्षहरूमा ल्याटिन अमेरिकामा देखिएका साहसका सबैभन्दा उल्लेखनीय उदाहरणहरू मध्ये एक हुन्। उनले विपक्षी शक्तिलाई एकजुट पार्दै लोकतन्त्रका सिद्धान्तको संरक्षण गरेकी छिन्।’ समितिले थप भनेको छ, ‘लोकप्रिय शासनका सिद्धान्तहरूलाई रक्षा गर्ने हाम्रो इच्छाशक्ति नै लोकतन्त्रको मूल आधार हो।’
यस वर्षको पुरस्कार घोषणा अघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम पनि चर्चामा थियो। ट्रम्पले आफूले विभिन्न देशका सशस्त्र द्वन्द्व रोक्न योगदान गरेको दाबी गर्दै नोबेल शान्ति पुरस्कारका लागि बारम्बार इच्छा प्रकट गरेका थिए। पुरस्कार घोषणा भएपछि पत्रकारहरूले ट्रम्पलाई पुरस्कृत गर्न दबाब परेको थियो कि भनेर समितिसमक्ष प्रश्न उठाएका थिए।
यस प्रश्नमा समितिका अध्यक्ष फ्रुएड्नसले भने, ‘नोबेल पुरस्कारको लामो इतिहासमा हामीले विभिन्न अभियान र मिडिया दबाब खेपेका छौँ। तर हामीले सधैं काम र अल्फ्रेड नोबेलको इच्छाका आधारमा मात्र निर्णय गरेका हौँ।’
ह्वाइट हाउसले समितिको निर्णयपछि प्रतिक्रिया दिँदै भनेको छ, ‘नोबेल समितिले शान्तिको सट्टा राजनीति रोजेको देखिन्छ।’ समितिले भने राजनीतिक प्रभाव होइन, योगदान र कार्यका आधारमा मात्र निर्णय गरिएको दोहोर्याएको छ।
मारिआ कोरिना मचाडो भेनेजुएलाकी ती नेतृ हुन्, जसलाई गत वर्ष राष्ट्रपति पदका लागि उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको थियो। सो निर्णयपछि भएको चुनावमा निकोलस मदुरो तेस्रो कार्यकालका लागि निर्वाचित भए, तर विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले त्यस्तो निर्वाचनमा गम्भीर अनियमितता भएको बताएका थिए।
त्यसपछि देशभर भएको प्रदर्शनलाई प्रशासनले कठोर रूपमा दबाएको थियो। मचाडो जनवरीमा भएको मदुरोको शपथग्रहण समारोहको विरोध प्रदर्शनमा देखिएकी थिइन्। उनलाई सो क्रममा पक्राउ गरी केही समयपछि रिहा गरिएको थियो।
नोबेल शान्ति पुरस्कार सन् १९०१ देखि प्रदान हुँदै आएको हो। हालसम्म ११२ जना व्यक्ति र ३१ संस्थाले यो पुरस्कार प्राप्त गरिसकेका छन्। मचाडो यो पुरस्कार पाउने २०औं महिला हुन्।
नोबेल समितिले भनेको छ, ‘लोकतन्त्र संकटमा परेको बेला त्यसको रक्षा गर्नु सबैभन्दा जरुरी हुन्छ। मचाडोले देखाएकी दृढता त्यसको प्रेरणादायी उदाहरण हो।’
मचाडोले भनेकी छिन्, ‘मलाई यो खबर यकिन गर्न समय लाग्नेछ। यो सम्मान मेरो मात्र होइन, सम्पूर्ण भेनेजुएलाली जनताको हो।’
यो पनि पढ्नुहोस् ।