• २०८३ असार २५
  • 2026 July 09, Thursday

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने तयारी, प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच छलफल

  • २०८२ असोज २७, सोमबार ११:५२

राष्ट्रिय सभाको आगामी निर्वाचन माघ ११ गते गर्ने तयारी भइरहेको छ। यस विषयमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए। छलफलका क्रममा आयोगले माघ ११ गते नै निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीले पनि यही असोज २१ गते सिंहदरबारस्थित कार्यालयमा आयोगका आयुक्तहरूसँग छलफल गरेकी थिइन्। उक्त छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा सहभागी थिए।

प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच आइतबार पनि भेटवार्ता भएको थियो, जहाँ दाहालले आयोगसँगको छलफलबारे जानकारी दिँदै माघ ११ गते निर्वाचन गर्ने योजना अघि बढिसकेको बताए। उनका अनुसार आयोगले कार्यतालिकामा सो मिति समावेश गरिसकेको छ र अब सरकारले समन्वय गरी प्रक्रिया अघि बढाउनेछ।

आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिँदैछ। कानुन अनुसार कार्यकाल सकिनु ३५ दिनअघि निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले माघ दोस्रो साताभित्रै निर्वाचन गर्नुपर्ने बाध्यता आयोगमाथि छ।

अध्यक्ष दाहालका अनुसार प्रधानमन्त्री कार्की समयमै निर्वाचन गर्ने पक्षमा छिन् र जेनजीको सहभागिताबारे पनि चासो देखाएकी छन्। उनले मतदाता संरचना स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरूमा आधारित भएकाले राजनीतिक सहमति गरेर मात्रै मतदाता दायरा परिवर्तन सम्भव हुने बताएका छन्।

निर्वाचनका क्रममा सुरक्षाको खास समस्या नहुने र सातै प्रदेशमा सहज रूपमा चुनाव सम्पन्न गर्न सकिने विश्वास अध्यक्ष दाहालले व्यक्त गरेका छन्।

फागुनमा कार्यकाल सकिने १९ जना सदस्यमध्ये १८ पदका लागि निर्वाचन हुनेछ भने राष्ट्रपतिबाट मनोनीत सांसद बामदेव गौतमको कार्यकाल पनि समाप्त हुँदैछ। बाँकी १८ सिटका लागि निर्वाचन हुने तयारी भइरहेको छ।

एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक सदस्यको कार्यकाल सकिँदैछ। यसरी हुने रिक्त पदहरू भर्न माघ ११ गते निर्वाचन गर्ने तयारी औपचारिक रूपमा अघि बढाइएको छ।

  • २०८२ असोज २७, सोमबार ११:५२