काठमाडौँ। अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धि पूर्वानुमानलाई पुनः घटाउँदै ३ प्रतिशतमा झारेको छ। बुधबार ‘वल्ड इकोनोमिक आउटलुक’ सार्वजनिक गर्दै आईएमएफले विश्वको आर्थिक वृद्धिदर अझ खुम्चने प्रक्षेपण गरेको हो।
आईएमएफले अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण उत्पन्न ऊर्जा संकटको दीर्घकालीन प्रभावलाई कारण देखाउँदै सन् २०२६ को विश्व आर्थिक वृद्धि पूर्वानुमान यस वर्ष दोस्रो पटक घटाएको हो।
आउटलुक अनुसार सन् २०२६ मा विश्व अर्थतन्त्र ३ प्रतिशतले वृद्धि गर्ने अनुमान गरिएको छ। यो अप्रिलमा गरिएको ३.१ प्रतिशतको पूर्वानुमानभन्दा कम हो। यद्यपि, कृत्रिम बौद्धिकता (एआई) मा आधारित बढ्दो लगानी र मागले उक्त सुस्त वृद्धिको प्रभावलाई केही हदसम्म कम गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।
आईएमएफका अनुसार सन् २०२७ मा विश्व आर्थिक वृद्धि पुनः बढेर ३.४ प्रतिशत पुग्ने अपेक्षा छ। तर यो सन् २०२४-२५ को औसत ३.५ प्रतिशत वृद्धिदरभन्दा कम हो।
आईएमएफले यस वर्ष विश्वव्यापी मुद्रास्फीति ४.७ प्रतिशत पुग्ने प्रक्षेपण समेत गरेको छ। सन् २०२५ मा यो ४.१ प्रतिशत रहने अनुमान गरिएको थियो भने सन् २०२७ मा घटेर ३.९ प्रतिशतमा आउने अपेक्षा गरिएको छ।
आईएमएफको यो संशोधित पूर्वानुमान अमेरिकाद्वारा इरानमाथि पुनः सैन्य आक्रमण सुरु गरिएपछि सार्वजनिक भएको हो। अमेरिकाले हर्मुज जलमार्गमा तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि मंगलबार इरानमाथि फेरि आक्रमण सुरु गरेको थियो। त्यसपछि बुधबार पनि अमेरिकी सेनाले इरानी लक्ष्यहरूमा दोस्रो चरणको बमबारी गरेको थियो।
आईएमएफको अनुसन्धान विभागकी उपनिर्देशक पेटया कोयभा ब्रुक्सले विश्व अर्थतन्त्र हाल दुई विपरीत दिशाका शक्तिबीच प्रभावित भइरहेको बताइन्। उनको भनाईमा एकातिर मध्यपूर्व युद्धबाट उत्पन्न ऊर्जा संकटको दीर्घकालीन असर रहेको छ भने अर्कोतर्फ प्रविधि, विशेषगरी एआईमा आधारित लगानी विस्तारले अर्थतन्त्रलाई टेवा दिइरहेको छ।
उनले पछिल्ला घटनाक्रमले विश्व आर्थिक अवस्थालाई घेरेका अनिश्चितता र जोखिमलाई थप स्पष्ट बनाएको पनि बताइन्।
आईएमएफको पूर्वानुमानले जुलाईको मध्यदेखि हर्मुज जलमार्ग क्रमशः सञ्चालनमा फर्किने र आगामी मार्चसम्म युद्धअघिकै अवस्थामा पुग्ने आँकलन गरेको छ।
युद्धअघि विश्वव्यापी कच्चा तेल तथा तरलीकृत प्राकृतिक ग्यास व्यापारको करिब पाँचौं हिस्सा यही जलमार्गबाट हुने गरेको थियो। तर इरानी आक्रमणको जोखिमका कारण हाल जलमार्गमा जहाज आवतजावत उल्लेखनीय रूपमा प्रभावित भएको छ।
सामुद्रिक गुप्तचर संस्था केप्लरका अनुसार मंगलबार उक्त जलमार्गबाट ४१ वटा जहाज मात्र सुरक्षित रूपमा आवतजावत गरेका थिए। युद्धअघि भने दैनिक करिब १३० वटा जहाज यस मार्गबाट छुट्ने गर्थे।
गत साता युद्धअघिकै स्तरमा झरेको तेलको मूल्य अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेपछि फेरि उकालो लागेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिका-इरानबीचको युद्धविराम ‘समाप्त भएको’ विश्वास व्यक्त गरेका थिए। त्यसको केही घण्टापछि अमेरिकी रक्षा मन्त्रालयले लगातार दोस्रो दिन पनि इरानमाथि हवाई आक्रमण गरेको थियो।
ट्रम्पको अभिव्यक्ति र पछिल्लो आक्रमणपछि अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य एकैदिन ७ प्रतिशतसम्म बढ्दै प्रतिव्यारेल ७९ अमेरिकी डलर नाघेको थियो। ब्रेन्ट फ्युचर्सको मूल्य प्रतिव्यारेल ७८.७६ अमेरिकी डलर पुगेको थियो, जुन एक साताअघिको तुलनामा झन्डै ८ डलर बढी हो।
आईएमएफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा विकसित अर्थतन्त्रमध्ये यस वर्ष सबैभन्दा तीव्र आर्थिक वृद्धि अमेरिकामा हुने अनुमान गरिएको छ।
प्रतिवेदनअनुसार अमेरिकाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.३ प्रतिशतले वृद्धि हुनेछ। युरो क्षेत्रको आर्थिक वृद्धि ०.९ प्रतिशत र युकेको १ प्रतिशत रहने अनुमान गरिएको छ।
यस वर्ष चीनको आर्थिक वृद्धि ४.६ प्रतिशत र भारतको ६.४ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ।