• २०८३ असार २५
  • 2026 July 09, Thursday

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरामाथि अनुसन्धान

विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर गरिएको तस्करी प्रकरणमा अब पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरू पनि प्रहरी अनुसन्धानको दायरामा परेका छन्।

यसै घटनामा माओवादी केन्द्रका अर्का उपाध्यक्ष र पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आइतबार पक्राउ गरिसकेको छ। उनलाई चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

रोल्पा राङ्सीका पुन पनि यसै प्रकरणसँग जोडिएको आशंका बढेपछि प्रहरी अनुसन्धान अघि बढाइएको नेपाल प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्र पुनले हुम्लाको नागरिकता बनाइ गृह मन्त्रालयमार्फत सीमा वारपार गर्न मिल्ने परिचयपत्र प्राप्त गरेका थिए। त्यसपछि उनी हुम्ला हुँदै चीनको ताक्लाकोट पुगेका र त्यहाँ चिनियाँ समूहसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ खबर सार्वजनिक भएको थियो। सुनको भुक्तानीसहितको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो।