• २०८३ असार २५
  • 2026 July 09, Thursday

हमासले गर्‍यो १३ बन्धक रिहा, डोनाल्ड ट्रम्प पुगे इसराइल

हमासले १३ जना बन्धकहरूलाई छाडेको छ।

इसराइली अनलाइन टाइम्स अफ इसराइलका अनुसार, बन्धकको दोस्रो समूहको रिहाइ रेडक्रसको जिम्मा मार्फत भइरहेको छ। दोस्रो चरणमा छुटेका बन्धकहरूलाई रेडक्रसले इसराइल पुर्‍याइरहेको छ। पहिलो चरणमा रिहा भएका सात जना बन्धकको परिवारसँग भेट गराइएपछि उनीहरूको स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो।

पहिलो चरणमा सात र दोस्रो चरणमा छ जना गरी कुल १३ जना बन्धकहरू छाडिएका हुन्। हमाससँग हाल पनि २० बन्धक जीवित रहेको अनुमान गरिएको छ। बाँकी २८ बन्धकमध्ये केहीको अवस्था अज्ञात छ भने केहीको मृत्यु भइसकेको छ। मृत बन्धकहरूको शव पनि हमासले इसराइललाई हस्तान्तरण गर्नेछ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इसराइल पुगेका छन्। उनको अवतरणका समयमा बन्धकहरू इसराइल ल्याइँदै थिए भनेर टाइम्स अफ इसराइलले लेखेको। ट्रम्पलाई इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्वागत गरेका थिए। ट्रम्प हाल इसराइली संसद भवनमा पुगेका छन् र त्यहाँ सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी सिधै इजिप्ट जानेछन् र त्यहाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

गजाबाट बन्धकहरू रिहा भएपछि, इसराइलले पनि जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई बसमार्फत सीमाना पुर्‍याएर रिहा गर्ने तयारी गरेको छ। बन्धकहरू इसराइल प्रवेश गरेपछि प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गरिनेछ।

छुटेका २० जीवित बन्धकहरूका नाम यस प्रकार छन्:
बार अब्राहम कुपरस्टाइन, एव्यातार डाभिड, योसेफ–खाइम ओहाना, सेगेभ काल्फोन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हर्किन, निम्रोड कोहेन, मतान एङ्ग्रेस्ट, मतान जाङ्गाउकर, एतान हर्न, एतान अब्राहम मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाय गिल्बोआ–डालाल, रोम ब्रासलाभ्स्की, एरियल कुनियो, र डाभिड कुनियो।