हमासले २० जना बन्धकहरू सोमबार रिहा गरेको छ।
बीबीसीका अनुसार, युद्धविराम सम्झौता अनुसार हमासले बन्धकहरूलाई रेडक्रस मार्फत इजरायली सेनाको जिम्मा लगाएको हो। यी बन्धकहरूलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणको क्रममा अपहरण गरी गाजामा ल्याएको थियो।
हमासले बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ। यसै क्रममा नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो, तर हालसम्म उनको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन। जोशीलाई पनि २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो।
हमासबाट रिहा भएका बन्धकहरूलाई रेडक्रसको सहायतामा गाजाका विभिन्न स्थानबाट इजरायल पुर्याइएको छ। इजरायली सेनाले हालै बन्धकहरूको रिहाइपछिका तस्वीरहरू सार्वजनिक गरेका छन्। तस्वीरमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन समेत देखिन्छन्, जो रिहाइको खुसीमा आपसमा अंकमाल गरिरहेका छन्। रिहाइपछिका तस्बिरमा बन्धकहरू इजरायली सैनिकहरूसँग कुराकानी गरिरहेका पनि देखिन्छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। उनले इजरायली संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ भने बन्धकका परिवारसँग पनि भेट्न सक्ने कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ट्रम्पको अगुवाइमा तयार गरिएको शान्ति योजनाअनुसार, अमेरिकासहित इजिप्ट, कतार र टर्की को मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो।

