मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट मन्त्री बनेकी शर्माले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै राजीनामा पेश गरेकी हुन्। राजीनामा पत्रमा उनले लेखेकी छन्, “मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिदेखि लागू हुने गरी राजीनामा पेश गर्दछु।”
यससँगै मुख्यमन्त्री सिंह नेतृत्वको सरकार थप संकटमा परेको छ। उनी पहिले नै अल्पमतमा परिसकेका छन् र अब विश्वासको मत लिनुपर्ने बाध्यता आएको छ।
यसअघि सिंहलाई आफ्नै पार्टी जनमतले समर्थन फिर्ता लिएको थियो। त्यसपछि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमालेले समेत समर्थन फिर्ता लिएर नयाँ सरकार गठनका लागि दाबी पेस गरिसकेका छन्।