काठमाडौँ । जेनजी विद्रोहको आगो अहिले संसारका कयौँ देशहरूमा फैलिएको छ। गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी विद्रोहले ठुलो जनधनको क्षति हुनुका साथै २ दिनमै सत्ता पलट गरिदियो भने तत्कालीन शासकहरूलाई ज्यान जोगाउन सेनाको सुरक्षामा बस्नुपर्नेसम्मको अवस्था सृजना गरिदियो। कतिपय देशमा शासकहरू देश छोडेर भाग्ने स्थिति समेत जेनजी विद्रोहले उत्पन्न गरिदिएको छ। यसैको उदाहरण हो हिन्द महासागरको पूर्वी तटमा अवस्थित अफ्रिकी टापु देश माडागास्कर।
माडागास्करमा हप्ताभरि चलेको जेनजी युवाहरूको उग्र विरोध–प्रदर्शनपछि त्यहाँका राष्ट्रपति आन्द्रे राजोएलिना देश छाडेर भागेका छन् । राजोएलिनाले एक दिनअघि आइतबार सेनाको सहयोगमा देशमा ‘कु’ को प्रयास भइरहेको दाबी गरेका थिए । जेनजीको विद्रोह र सत्ताको शीर्ष पदमा बसेका राजनीतिक अधिकारीले पद छोडेको पछिल्लो उदाहरण हो ।
रेडियो फ्रान्स इन्टरनेसनलका अनुसार, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोको अनुरोधमा आइतबार एक फ्रान्सेली सैन्य विमानले राष्ट्रपति आन्द्रे राजोएलिनालाई त्यहाँबाट सुरक्षित रूपमा निकालेका हुन् । यसअघि माडागास्करस्थित फ्रान्सेली दूतावासले आफ्नो पूर्वउपनिवेशमा कुनै पनि सैन्य हस्तक्षेपबाट इन्कार गरेको थियो ।
ब्लुमबर्गको रिपोर्टमा फ्रान्सको राष्ट्रपति कार्यालय र विदेश मन्त्रालयले यसमा टिप्पणीका लागि गरिएको अनुरोधको तत्काल कुनै जवाफ नदिएको भनिएको छ ।
पानी–बिजुलीको अभावमा सुरु भएको थियो प्रदर्शन
हजारौँ जेनेरेसन जी (जेनजी) प्रदर्शनकारीहरूले गत महिना सडकमा उत्रिएर पानी र बिजुलीको अभावलाई लिएर प्रदर्शन सुरु गरेका थिए ।
त्यस क्रममा युवाहरूको सुरक्षा बलसँग झडप पनि भएको थियो, जसमा कम्तीमा २२ जनाको मृत्यु भएको थियो । यी युवाहरू देशमा आधारभूत सेवाहरूको अभाव र सरकारी भ्रष्टाचारलाई लिएर सरकारसँग असन्तुष्ट थिए ।
युवाहरूको आक्रोश र यो प्रदर्शनको सिलसिलाले मोरक्को, इन्डोनेसिया, नेपाल र केन्या जस्ता देशहरूमा सत्ताधारी अभिजात वर्गविरुद्ध हालै भएका विरोध प्रदर्शनहरूको याद दिलाउँछ ।
राजोएलिनाले पहिलो पटक २००९ मा सेनाको समर्थनमा सत्ता कब्जा गरेका थिए । यद्यपि, उनले २०१४ मा पद छोडेका थिए तर २०१८ मा चुनाव जितेर फेरि राष्ट्रपति पद कब्जा गरे र त्यसपछि २०२३ मा एक विवादास्पद मतदानमा अर्को कार्यकाल हासिल गरे ।
तर, हालैको विरोध–प्रदर्शनका कारण ५१ वर्षीय राजोएलिना सत्ताबाट टाढा भएका छन् । सेनाको एक विशेष इकाईले राष्ट्रपतिको बिदाइमा अहम् भूमिका खेलेको छ ।
यो विशिष्ट सैन्य इकाईले प्रदर्शनकारीहरूको पक्ष लिएको थियो । क्याप्स्याट नामले चिनिने यो समूहले १६ वर्षअघि राजोएलिनालाई पहिलो पटक राष्ट्रपति पदसम्म पुर्याउन सहयोगी बनेको थियो ।
विश्व बैङ्कका अनुसार, माडागास्कर विश्वका सबैभन्दा गरिब देशहरूमध्ये एक हो, जहाँ पाँचमध्ये चार जना मानिस गरिबीको रेखामुनि जीवनयापन गर्छन् । मोजाम्बिकको तटमा रहेको हिन्द महासागरको टापु राष्ट्रमा १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएदेखि धेरै सैन्य तख्ता पलट भइसकेका छन् ।