नेपालको लोकतान्त्रिक राजनीतिक यात्रामा दुई नाम विशेष रूपमा जोडिन्छन्, शेरबहादुर देउवा र केपी शर्मा ओली। यी दुई नेताले तीन दशकभन्दा बढी समय देशको सत्ता, पार्टी र आन्दोलनलाई आफ्नै छविमा ढाले। पाँच दशकभन्दा बढी समय सक्रिय राजनीति र सत्ताको नेतृत्वमा बिताएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको नेतृत्वबाट विश्राम लिँदै राजनीतिक यात्राको एउटा लामो अध्याय टुंग्याएका छन्। उनीसँगै नेपाली राजनीतिले पनि एउटा युगलाई बिदा गरेको अनुभूति गरिरहेको छ।
शेरबहादुर देउवाको राजनीतिक यात्रा संघर्ष, सत्ता, आलोचना र सहनशीलताको मिश्रण हो। सुदूरपश्चिमको एउटा साधारण गाउँमा जन्मिएका देउवाले विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरे। २०४६ सालको जनआन्दोलनपछि उनले पहिलो पटक राष्ट्रिय राजनीतिमा ठूला कदम राखे। १७ वर्षको उमेरदेखि नै सक्रिय राजनीतिमा लागेका देउवा २५ वर्षको उमेरमै नेविसंघको केन्द्रीय अध्यक्ष बनिसकेका थिए । ६२ वर्ष लामो राजनीतिमा १० वर्ष पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री बने ।
देउवाको राजनीति धेरैले व्यावहारिक र सम्झौतामूलक भनेर व्याख्या गर्छन्। उनले कहिल्यै पनि कठोर भाषण र उग्र कदमलाई प्राथमिकता दिएनन्। जब पार्टीभित्र मतभेद चर्कियो वा मुलुकमा अस्थिरता देखियो, उनी सहमतिको बाटो रोज्थे। यही कारण, उनी धेरैपटक सत्तामा फर्किए, फेरि पतन पनि भोगे।
देउवाको नेतृत्वबारे आलोचना पनि कम छैन। निर्णय लिन ढिला गर्ने, राजनीतिक रूपान्तरणको बेला साहसिक कदम नचाल्ने र पार्टीभित्र अनुशासन कायम गर्न नसक्ने कमजोरीहरू पनि देखिए। यद्यपि, त्यही ‘मध्यमार्गी’ शैलीले उनलाई लामो समयसम्म राजनीतिमा टिकाइराख्यो। अब देउवा विश्राममा गएका छन्। उनको निरन्तर उपस्थितिबाट नेपाली राजनीतिले जुन स्थायित्वको अनुभूति पाएको थियो, त्यसमा खालीपन आउने देखिन्छ।
पाँच पटकसम्म सिंहदरबारको सिंहासनमा पुगेका देउवाले राजनीतिमा अग्लो पहिचान मात्रै छाडेका छैनन्, गहिरो विवादपूर्ण छवि पनि बनाएका छन् । सत्ताका खेलाडीको पहिचान बनाएका उनको शासनकालमा सुशासनभन्दा बढी बेथिति र भ्रष्टाचार बढेको आरोप लागिरहेको छ ।
यतिबेला अर्का अनुभवी नेता केपी शर्मा ओली नेकपा ९एमाले० पार्टी र राष्ट्रिय राजनीतिमा अझै सक्रिय छन्। तर देउवाको यात्रा ओलीका लागि पनि एउटा ‘पाठ’ हो। नेतृत्व केवल आक्रामक भाषण र संगठनको नियन्त्रणले दीगो हुँदैन, दीर्घकालीन राजनीति सहमति र समयअनुसार रूपान्तरण गर्न सक्ने क्षमताले टिक्छ।
ओलीको शैली देउवाभन्दा भिन्न छ। उनी ठाडो, प्रहारात्मक र सशक्त भाषणका लागि चिनिन्छन्। यसले उनलाई जनताको ठूलो समर्थन दिलाएको पनि छ। तर समयले देखाइसकेको छ, त्यो समर्थन लामो समयसम्म टिकाउन समायोजन, सहमति र संगठन भित्रको विविधतालाई आत्मसात गर्ने क्षमता चाहिन्छ। देउवाले आफ्नो राजनीतिक जीवनमा धेरै आलोचना खेपेर पनि अन्तिममा पार्टीलाई नयाँ पुस्तालाई जिम्मा दिने निर्णय गरे। यो निर्णय केवल व्यक्तिगत होइन, राजनीतिक परिपक्वताको संकेत हो।
ओली अहिले पनि एमालेमा सबैभन्दा प्रभावशाली नेता छन्। तर उनको वरिपरि नयाँ पुस्ता अघि बढ्न नपाउने वातावरण बनेको भनी आलोचना हुन्छ। यदि उनले समयमै पार्टीभित्र जिम्मेवारी बाँडफाँड र संक्रमणलाई सहज बनाएनन् भने, देउवाले गरेझैँ ‘सम्मानपूर्वक बिदा हुने’ अवसर गुम्न सक्छ। राजनीतिक नेतृत्वको अन्तिम क्षणमा कसरी इतिहासमा याद गरिन्छ भन्ने कुरा केवल जित र हारले होइन, ‘कसरी सत्ता छाडिन्छ’ भन्ने कुराले पनि निर्धारण गर्छ।
देउवाले राजनीतिमा केवल जित्ने होइन, बाँच्ने कला देखाए। उनी हरेक संकटपछि पुनः फर्किए, कहिले चतुर सहमतिको माध्यमबाट, कहिले मौन रहँदै। उनले अन्ततः बिदा लिँदा कुनै ठूला हल्ला र तिक्तता देखिएन। यो शैली ओलीका लागि पनि एउटा पाठ हो। राजनीतिमा कहिले बोल्ने, कहिले सहने र कहिले बाटो छोड्ने समय चिन्ने कुरा नै नेतृत्वको गहिरो कला हो।
यतिबेला एमाले पार्टीभित्र पनि नेतृत्व हस्तान्तरणको कुरा जोडतोडका साथ उठिरहेको छ । एमाले सचिवालयभित्रै कार्यवाहक अध्यक्ष तोक्ने प्रस्तावसम्म आए पनि ओलीले त्यो सुन्ने संकेत पनि दिएका छैनन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पद छोड्न बाध्य भएका ओलीको गर्जन कम भएको छैन।
यतिबेला ओलीमाथि दुई किसिमको ठूला दबाब छन्, पहिलो, नेतृत्व हस्तान्तरण । दोस्रो, प्रतिनिधिसभा पुनर्स्थापना होइन, प्रत्यक्ष निर्वाचनमा जानुपर्ने।
एमालेभित्र नेताहरूको ठूलो पंक्ति यी दुई एजेन्डाको पक्षमा उभिए पनि ओली न यी एजेन्डामा सहमत देखिएका छन्, न उनीहरुका कुरा सुन्न तयार छन्। गुण्डुबाट गड्गडाएर उनले नेताहरूलाई सन्देश दिइसकेका छन्,‘अध्यक्ष छोड्दिनँ, प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ।’
यसबाट प्रष्ट देखिन्छ, आन्दोलनपछि सत्ता गुमाएका ओली अझै अडानमै छन् र पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै संकेत दिएका छैनन्। बरु, उनी फेरि शक्तिशाली ढंगले पार्टीलाई आफ्नो वरिपरि केन्द्रित गर्न खोजिरहेका छन्।
अन्ततः देउवाले नेतृत्वमा देखाएको सहनशीलता र सहमतिको बाटोले ओलीलाई पनि सन्देश दिन्छ, राजनीतिक दीर्घायु केवल शक्तिको प्रदर्शनले होइन, समयमै सही निर्णय लिँदा प्राप्त हुन्छ। नेपाली राजनीतिले अब नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने बेला आएको छ। देउवाले बाटो देखाइदिएका छन्, अब ओलीले त्यो बाटो पछ्याउने कि आफ्नो शैलीमै अन्त्य हुने, त्यो आगामी दिनहरुले निर्धारण गर्नेछ।