काठमाडौं । राष्ट्रिय जेनजी पार्टी नेपालले आज आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।
पार्टीका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो ।
निर्वाचन आयोगले दलको नाम र चिन्हमा पुनर्विचार गर्न सुझाव दिएको छ । आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर जबराले नाम र चिन्हमा सुधार गर्न सुझाएका छन् । पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ ।
दलको संघीय कार्यालय अनामनगरमा रहेको छ । विधानअनुसार पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्रै गर्न पाउने र सबै तहमा ६५ वर्ष उमेर हद तोकिएको छ । पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ ।
राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन् ।