काठमाडौँ । बिहारको राजनीतिक भूमि फेरि एक पटक चुनावी रापले तातेको छ। तेजस्वी यादव र नितिश कुमारबीचको पुरानो प्रतिस्पर्धा पुनर्जीवित भएको छ। एकातर्फ नयाँ पुस्ताको उत्साह र परिवर्तनको चाहना बोकेका तेजस्वी छन् भने अर्कातर्फ अनुभवी राजनीतिज्ञ र सत्ताका खेलाडी नितिश कुमार छन्। यो प्रतिस्पर्धा केवल दुई नेता बीचको मात्र नभएर दुई पुस्ताबीचको विचार र दृष्टिकोणबीचको लडाइँ पनि हो।
तर पछिल्ला वर्षमा नितिशको राजनीतिक यात्राले धेरै मोड लिएको छ। उनले पटक–पटक गठबन्धन परिवर्तन गर्दै कहिले भारतीय जनता पार्टी (भाजपा) सँग, कहिले राष्ट्रिय जनता दल (आरजेडी) र भारतीय काँग्रेस पार्टीसँग हात मिलाएका छन्। यही कारण विपक्षीहरूले उनलाई ‘पल्टुराम’ भनेर व्यङ्ग्य गर्छन्। उनै नितिश पुन चुनावी मैदानमा छन् र उनी दसौँ पटक मुख्यमन्त्री बन्ने दौडमा छन्।
तेजस्वी भने सन् २०१५ मा पहिलो पटक राघोपुर निर्वाचन क्षेत्रबाट बिहार विधानसभा सदस्य निर्वाचित भएका थिए । त्यही चुनावपछि नितिश र लालु बीच गठबन्धन बनेको थियो, जसलाई ‘महागठबन्धन सरकार’ भनिन्थ्यो। तेजस्वी उक्त सरकारमा उपमुख्यमन्त्री बनेका थिए। त्यति बेला उनी २६ वर्षका थिए र बिहारको इतिहासकै सबभन्दा कम उमेरका उपमुख्यमन्त्री थिए। उनले सार्वजनिक निर्माण, वन तथा वातावरण मन्त्रालय पनि सम्हालेका थिए।
यस वर्षको बिहार विधान सभा चुनाव दुई चरणमा हुँदैछ। पहिलो चरण नोभेम्बर ६ (कात्तिक २०) मा र दोस्रो चरण नोभेम्बर ११ मा। मतगणना नोभेम्बर १४ मा हुनेछ। करिब ७ करोड ४२ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। चुनावी समीकरण हेर्दा एकातिर भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा जनता दल (युनाइटेड) (जेडियू), लोक जनशक्ति पार्टी (एलजेपी), राष्ट्रिय लोक मोर्चा र हिन्दुस्तानी आवाम मोर्चा रहेका छन्। अर्कातिर ‘महागठबन्धन’मा राष्ट्रिय जनता दल (आरजेडी), भारतीय काँग्रेस पार्टी, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) (सीपीआई-एम), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी (भीआईपी) छन्।
हालै जनता दल (युनाइटेड) अर्थात् जेडियूभित्र देखिएको असन्तुष्टि यस चुनावको नयाँ अध्याय बनेको छ। मुख्यमन्त्रीसमेत रहेका अध्यक्ष नितिश कुमारले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा आफ्नै १६ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेका छन्। तीमध्ये दुई जना बहालवाला विधान सभा सदस्य र पूर्व मन्त्रीहरू समेत छन्। यसअघि पनि उनले पूर्व मन्त्री शैलेशकुमारसहित ११ जनामाथि अनुशासनात्मक कारबाही गरेका थिए। यसपालि निष्कासित नेतामा नरेन्द्र निरज (गोपाल मण्डल) पनि परेका छन्, जसले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
तेजस्वी यादव भने नयाँ पुस्ताका नेता हुन्। ३५ वर्षका यी आरजेडी प्रमुख लालुप्रसाद यादवका कान्छा छोरा हुन्। खेलकुदमा रुचि राख्ने तेजस्वीले राजनीतिमा प्रवेश गरेपछि आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्न खोजेका छन्। उनले बेरोजगारी, शिक्षा र विकासका मुद्दालाई प्राथमिकता दिँदै ‘बदलावको बिहार’ निर्माणको सङ्कल्प सार्वजनिक गरेका छन्। उनका भाषणहरूमा जोश, युवाशक्ति र नयाँ सोच झल्किन्छ, जसले युवापुस्तामाझ ठूलो आकर्षण बनाएको छ।
भारतीय मिडियामा प्रकाशित विभिन्न सर्वेक्षण र विज्ञ विश्लेषण अनुसार तेजस्वीको लोकप्रियता हाल नितीशको भन्दा बढी देखिएको छ।
सी-भोटर (C-Voter) द्वारा गरिएको पछिल्लो सर्वेक्षण अनुसार बिहारका करिब ३६ प्रतिशत मतदाताले तेजस्वीलाई मुख्यमन्त्रीको रुपमा हेर्न चाहेको देखिएको छ भने नितिशको लोकप्रियता झन्डै १६ प्रतिशतमा सीमित छ। तर एनडीटीभी (NDTV) ले उद्धृत गरेका केही राजनीतिक विश्लेषकहरूले भने बिहारको चुनाव केवल यी दुई नेताबीच सीमित नभई गठबन्धनको अवस्था, जातीय सन्तुलन र क्षेत्रीय मुद्दाहरूले निर्णायक भूमिका खेल्ने तर्क गरेका छन्।
समग्रमा हेर्दा अहिलेका सर्वेक्षण र विश्लेषणहरूले तेजस्वी यादवलाई लोकप्रियताको हिसाबले अग्रस्थानमा देखाए पनि नितिश कुमार नेतृत्वको एनडीए गठबन्धनले पनि बलियो उपस्थितिसँग चुनावी मैदानमा चुनौतीपूर्ण प्रतिस्पर्धा गर्ने सङ्केत देखिएको छ।