काठमाडौं। मोरक्कोमा हालै भएका युवाहरू नेतृत्वमा आयोजित ‘जेन जेड २१२’ आन्दोलनका क्रममा हिंसा भड्किएपछि २४८० जनामाथि मुद्दा दायर गरिएको छ। तीमध्ये १,४७३ जना हाल पनि थुनामा रहेका छन्। उनीहरूलाई हातहतियारसहितको विद्रोह, कर्तव्यमा रहेका अधिकारीमाथि अपमान र हिंसा र गम्भीर अपराध गर्न उक्साएको आरोप लगाइएको छ।
‘जेन जेड २१२’ नामक युवाहरूको समूहले सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी प्रदर्शन गरेको थियो। यो समूहले सामाजिक सञ्जाल प्लेटफर्म ‘डिस्कोर्ड’ मार्फत आन्दोलन सुरु गरेको हो। उनीहरूले सरकारले खेलकुद पूर्वाधारमा अत्यधिक बजेट खर्च गरेर शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा बेवास्ता गरेको आरोप लगाएका थिए।
यद्यपि प्रदर्शन शान्तिपूर्ण राख्ने आह्वान गरिएको थियो, केही सहरहरूमा प्रदर्शन हिंसात्मक बनेका थिए। जसमा तीन जनाको मृत्यु, सयौँ घाइते, र पसल तथा सवारीसाधनमा क्षति पुगेको बताइन्छ। अधिकारकर्मीहरूले सरकारको कठोर कारबाहीको आलोचना गरेका छन् भने सरकारी पक्षले भने सबै हस्तक्षेप कानुनी सीमाभित्रै भएको दाबी गरेको छ।
यसै क्रममा चर्चित मोरक्कन र्यापर हम्जा राइडलाई पनि पक्राउ गरिएको छ, जसका गीतहरूमा युवाको असन्तोष र राजनीतिक सन्देश पाइन्छ। राजधानी रबातमा दुई विद्यार्थी र एक प्रिन्ट सटका कामदारमाथि पनि ‘गम्भीर अपराध गर्न उक्साउने’ र ‘अधिकारी निकायमाथि अपमानजनक व्यवहार गरेको’ अभियोगमा मुद्दा दायर भएको छ। दोषी ठहरिए उनीहरूलाई पाँच वर्षसम्म जेल सजाय हुन सक्छ।
सरकारी अभियोजकका अनुसार ४०० भन्दा बढी व्यक्तिलाई एकदेखि १५ वर्षसम्मको कैद सजाय सुनाइएको छ भने ३४ जनालाई निर्दोष ठहर गरिएको छ।
नेपालमा पनि गत भदौ २३ र २४ गते भएको ‘जेञ्जी आन्दोलन’ का क्रममा व्यापक जनधनको क्षति भएको थियो। २३ गतेको प्रदर्शनमा दर्जन बढी प्रदर्शनकारीको मृत्यु भएपछि २४ गते प्रदर्शनकारीहरूले देशका धेरै स्थानका सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए। उक्त घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ भने नेपाल सरकारले घटनाको छानबिनका लागि विशेष आयोग गठन गरेको छ।