• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

डेनियल ज्याक्सन: स्वंयलाई विश्वकै कान्छो राष्ट्रपति घोषित गरे, लगत्तै देशनिकालामा परे

ज्याक्सन, जो बेलायत र अष्ट्रेलिया दुवैका नागरिक हुन्, स्वघोषित “फ्री रिपब्लिक अफ भर्डिस” का राष्ट्रपति बनेका छन्। यसले उनलाई विश्वको सबैभन्दा कान्छो राष्ट्रपतिको स्थान दिन्छ। उनको दाबी गरिएको माइक्रोस्टेट ड्यान्यूब नदीको १२४ एकरको निर्जन, बालुवायुक्त भूभागमा छ। त्यहाँ वन र ससाना समुद्री किनारका अलावा धेरै केही छैन।

“तेरा नुलियस” – अन्तर्राष्ट्रिय कानुन अनुसार यो ल्याटिन शब्दको अर्थ “कसैको नभएको भूमि” भन्ने हुन्छ। यो शब्दले कुनै सार्वभौम राष्ट्रले दाबी नगरेको भूमिलाई जनाउँछ। पृथ्वीको करिब प्रत्येक इन्च भूभाग नक्सामा समावेश भइसकेको आजको समयमा त्यस्ता तेरा नुलियस क्षेत्रहरू अत्यन्तै दुर्लभ भएका छन्।

उदाहरणका लागि बिर ताविल (Bir Tawil), ग्रिस र सुडानको सीमामा रहेको निर्जन मरुभूमि। दुबै देशले सीमाको फरकफरक नक्सा बनाएका छन्। ती सीमाहरू एकअर्कासँग काटिएका कारण बिर ताविल, त्यो देशको हुन्छ जसले ठूलो र बढी मनपर्ने भूभागमा आफ्नो दाबी छोड्नेछ। त्यसैले ग्रिस र सुडान दुबै देशले यो भूमिलाई अर्को देशको हो भनेर मान्छन्।

यो असामान्य अवस्थाले “माइक्रोनेसनलिस्ट” (स्वयंघोषित साना राष्ट्र निर्माणकर्ताहरू) लाई आकर्षित गरेको छ जसले आफ्नै “देश” बनाउन चाहेका छन्। एउटा उल्लेखनीय प्रयास सन् २०१४ मा अमेरिकी नागरिक जेरेमाया हिटनले बिर ताविलमा गरेका थिए । उनले आफूले स्थापना गरेको “किंगडम अफ नर्थ सुडान” (राजतन्त्रात्मक उत्तर सुडान) नामक राष्ट्रलाई संसारले कहिल्यै मान्यता दिएन। उनले यो सब आफ्नी छोरीलाई वास्तविक राजकुमारी बनाउनका लागि गरेको एक अन्तर्वार्तामा बताएका थिए।

अन्य माइक्रोनेसनलिस्टहरू युरोपतर्फ आकर्षित भए। क्रोएसिया र सर्बियाको सीमामा ड्यान्यूब नदी वरिपरि चलेको लामो विवादका कारण कम्तीमा चारवटा ससाना भू–खण्डहरूलाई तेरा नुलियस दाबी गरिएका छन्।

यो सीमा विवाद दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा सुरु भएको हो र १९९० को दशकमा फेरि तीव्र बन्यो । जब युगोस्लाभियाबाट छुटिएपछि सर्बिया र क्रोएसियाबीच ऐतिहासिक सीमालाई पुनर्स्थापित गर्ने प्रयास भएको थियो।

ऐतिहासिक रूपमा यी दुई भूभागहरू ड्यान्यूब नदीले छुट्याएको थियो। सर्बियाले आफ्नो सीमा हालको नदीको बीचबाट जाने दाबी गर्छ भने क्रोएसियाले १९औं शताब्दीका जग्गा स्वामित्वका नक्सामा आधारित फरक सीमा दाबी गर्छ। त्यतिबेला नदीको धार अहिलेभन्दा फरक दिशामा बग्थ्यो।

यी फरक व्याख्याहरूका कारण क्रोएसियाले ड्यान्यूबको पूर्वी किनारमा रहेको भूमिमा आफ्नो दाबी गर्छ जुन सर्बियाले आफ्नै मान्छ। तर पुरानो नदीमार्ग अनुसार पश्चिमी किनारका केही ससाना भूभागहरू सर्बियाको हुने देखिन्छ।

बिर ताविलकै जस्तै यी पश्चिमी किनारका भूखण्डहरू त्यो देशमा जानेछन् जसले ठूलो भूभागको दाबी गुमाउँछ। व्यवहारमा यसको अर्थ, न क्रोएसिया न सर्बियाले ती भू–भागहरूमा दाबी गर्छन्, यद्यपि अधिकारीहरूले यसले ती भूमिहरू परित्यक्त (forsaken) भएको अर्थ नलिने बताएका छन्।

अन्तर्राष्ट्रिय कानुन अनुसार तेरा नुलियस मानिने भूमि कब्जा गरेर दाबी गर्न सकिन्छ। डारहम विश्वविद्यालयका राजनीतिक तथा सांस्कृतिक भूगोलका एसोसिएट प्राध्यापक नोएम लेशेमका अनुसार यो “अस्पष्ट कानुनी श्रेणी” हो।

सन् २०१५ मा चेक राजनीतिज्ञ भिट जेडलिच्काले ड्यान्यूब क्षेत्रको विवादित भूभागको सात वर्ग किलोमिटर क्षेत्र ‘गोर्न्जा सिगा’ दाबी गर्दै “फ्रि रिपब्लिक अफ लिबरल्यान्ड” घोषणा गरे। उनको माइक्रोनेसन दृढतापूर्वक लिबर्टेरियन थियो र उनको लक्ष्य भनेको “विश्वव्यापी क्रान्ति” सिर्जना गर्नु भन्ने थियो।

रिपब्लिक अफ लिबरल्याण्ड घोषित क्षेत्र, तस्बिर स्रोत: सिएनएन

 

यो भूमि अहिले क्रोएसियाले घेरेको छ र सार्वजनिक प्रयोजनका लागि पहुँचयोग्य छैन।

जेडलिच्काको दाबी थाहा पाएपछि २० वर्षका ड्यानियल ज्याक्सनले आफ्नो अलग मिशनका साथ सार्वभौमिकता र निर्माण गर्ने आफ्नो प्रयोग सुरु गर्ने प्रेरणा पाए।

ज्याक्सन, जो बेलायत र अष्ट्रेलिया दुवैका नागरिक हुन्, स्वघोषित “फ्री रिपब्लिक अफ भर्डिस” का राष्ट्रपति बनेका छन्। यसले उनलाई विश्वको सबैभन्दा कान्छो राष्ट्रपतिको स्थान दिन्छ। उनको दाबी गरिएको माइक्रोस्टेट ड्यान्यूब नदीको १२४ एकरको निर्जन, बालुवायुक्त भूभागमा छ। त्यहाँ वन र ससाना समुद्री किनारका अलावा धेरै केही छैन।

डेनियलले राज्य बनाउन खोजेको क्षेत्र, तस्बिर स्रोत: सिएनएन

 

ज्याक्सनले दाबी गरिएको भूमि करिब आधा वर्ग किलोमिटर मात्र छ, जुन सानो देश भ्याटिकन सिटीभन्दा अलिकति ठूलो छ। उनी भन्छन् कि करिब ४०० भर्डिसियन नागरिक आफ्नो पहलमा सहभागी भएका छन् र उनको प्रारम्भिक गणराज्य अन्तर्राष्ट्रिय मान्यता पाउने सम्भावना राख्छ।

तर २०२३ मा भर्डिस टिमले आफ्नै नक्सा अनुसार नीलो–सेतो रंगको झण्डा बालुवामा रोपेको केही दिनमै क्रोएसियाली प्रहरीले ज्याक्सनलाई पक्राउ गरी देशनिकाला गर्‍यो।

क्रोएसियाको परराष्ट्र मन्त्रालयले ज्याक्सनको भूमिकालाई “कानुनी आधारविहीन उत्तेजक कार्य” भनेको छ। “दुवै क्रोएसिया र सर्बियाले अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्तलाई सम्मान गर्छन्। सीमा विवादले कुनै स्थानलाई तेरा नुलियस बनाउँदैन जसलाई तेस्रो पक्षले कब्जा गर्न सक्छ,” मन्त्रालयले भनेको छ।

तर ज्याक्सनले आफ्नो निकाला पछि पनि हार मानेका छैनन्।

उनी भन्छन्, “हामीले कहिलेकाहीँ नदी उच्च हुँदा भर्डिसमा झण्डा रोपेका छौं, यो देखाउन कि हामी अझै प्रतिबद्ध छौं। हामी निर्वासनबाट शासन जारी राख्छौं। हामी सधैं भूमि फर्किन र त्यहाँ फिर्ता भएर बसोबास गर्न तयार हुनेछौं।”

नोएम लेशेम भन्छन् कि ज्याक्सनको दाबी अन्ततः सफल हुने सम्भावना कम छ, खासगरी क्रोएसियाली प्रहरीको उपस्थितिमा। तर यसले मानिसहरू किन यस्तो “सार्वभौमिक स्वैरकल्पना” गर्छन् र अरूलाई प्रेरित गर्छन् भन्ने कुरा देखाउँछ।

न्यूकासल विश्वविद्यालयका वरिष्ठ व्याख्याता जेम्स राइडिङ भन्छन् कि यो परियोजना विशेष गरी बाल्कान क्षेत्रमा प्रतिध्वनित हुन्छ।

फ्री रिपब्लिक अफ भर्डिसले लन्डनमा क्रोएसियाली दूतावासबाहिर पनि प्रदर्शन गरेको छ। भर्डिससँग अहिले ९०० ई–नागरिक र ४०० वास्तविक नागरिक छन्।

फ्री रिपब्लिक अफ भर्डिसले तयार पारेको पासपोर्ट, तस्बिर स्रोत सिएनएन

 

ज्याक्सन फेरी भन्छन्, “म अझै विश्वास गर्छु कि चाँडै वा ढिलो हामी भूमि फर्किनेछौं र क्रोएसियाले अन्तर्राष्ट्रिय कानून, भर्डिसको क्षेत्रीय अखण्डता सम्मान गर्नुपर्नेछ। हामी हाम्रो लक्ष्य कहिल्यै त्याग्ने छैनौं। हामी भविष्यमा क्रोएसियासँग सकारात्मक सम्बन्ध राख्न चाहन्छौं। हामी उनीहरुसँग सहकार्य गर्न चाहन्छौँ । ”

(सिएनएनमा प्रकाशित रिचार्ड कोलेटको रिपोर्ट, भावानुवाद: कुशल गौतम )