नेकपा (एकीकृत समाजवादी) पार्टी अब विभाजन हुने निश्चित भएको छ। हालै सम्पन्न केन्द्रीय समिति बैठकले नेकपा (माओवादी केन्द्र) लगायतका समाजवादी घटकहरूसँग एकता गर्ने निर्णय गरेपछि पार्टी दुई भागमा विभाजन हुने अवस्था बनेको हो।
पार्टीका सम्मानित नेता झलनाथ खनालसहितको समूहले भने पार्टी पुनर्गठन र सांगठनिक सुदृढीकरण नगरी अन्य दलसँग एकता गर्नु गलत ठानेका थिए। तर, केन्द्रीय समितिबाट बहुमतले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव पारित भएपछि विभाजन करिबकरिब पक्का भएको हो।
खनाल समूहले शनिबार दिउँसो काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा छुट्टै भेला आयोजना गर्ने तयारी गरेको छ। उक्त भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विजय पौडेल लगायत सयभन्दा बढी केन्द्रीय सदस्य सहभागी हुने दाबी खनाल पक्षले गरेको छ।
यी सबै नेता माओवादी केन्द्रसँग एकता गर्न नहुने पक्षमा छन्।
यस्तै, पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बनेको थियो। झलनाथ खनाल पक्षले नैतिकताको आधारमा माधव नेपालले पद छाड्नुपर्ने अडान लिएको थियो।
जेनजी आन्दोलनपछि अन्य दलहरूले नेतृत्व पुनर्गठनको प्रक्रिया अघि बढाए पनि माधव नेपालले आफूलाई बचाउन माओवादीसँग एकता गर्ने बाटो रोजेको आरोप खनाल समूहले लगाएको छ।