• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

शम्भवी अधिकारीको यात्रा विवादमा भारतको इमिग्रेशनको भूमिका छैन : भारतीय गृह मन्त्रालय

काठमाडौं । भारतको गृह मन्त्रालयले नेपाली नागरिक शम्भवी अधिकारीसँग दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा भारतीय अध्यागमन (इमिग्रेशन) अधिकारीहरूको कुनै भूमिका नभएको स्पष्ट पारेको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई ‘नेपाली नागरिकमाथि भारतले पूर्वाग्रह वा भेदभाव गरेको’ भनेर गलत रूपमा प्रस्तुत गरिएको भन्दै स्पष्टीकरण दिएको हो।

विज्ञप्तिअनुसार, अधिकारी एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली पुगेकी थिइन् र जर्मनीको बर्लिनका लागि ट्रान्जिटमा थिइन्। उनलाई कतार एयरवेजको विमानमा चढ्ने क्रममा विमान कम्पनीले उनको भिसाको वैधता हेरेर बोर्डिङ अनुमति नदिएको मन्त्रालयले जनाएको छ।

‘उक्त निर्णय एयरलाइन्सले गन्तव्य देशका भिसा नियम र आवश्यकताका आधारमा गरेको हो, जसमा भारतीय अध्यागमनको कुनै संलग्नता छैन,’ विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले स्पष्ट पारेको छ, अन्तर्राष्ट्रिय ट्रान्जिटमा रहेका यात्रुहरूले आफ्नो यात्राको क्रममा भारतीय अध्यागमन विभागसँग सम्पर्क गर्नुपर्ने हुँदैन। यस्तो अवस्था यात्रु र सम्बन्धित एयरलाइन्सबीचको विषय हुने बताइएको छ।

भारतले नेपालसँगको बलियो सम्बन्धलाई महत्व दिने उल्लेख गर्दै गृह मन्त्रालयले भनेको छ, ‘कुनै पनि भारतीय अधिकारी वा निकायले नेपाली नागरिकप्रति कुनै पूर्वाग्रह वा भेदभाव गरेको छैन।’

विज्ञप्तिअनुसार अधिकारीले पछि आफ्नो यात्रा मिति पुनः निर्धारण गरी काठमाडौंबाट अर्को मार्गमार्फत बर्लिन प्रस्थान गरेकी थिइन्।