काठमाडौं । नेकपा (एमाले) ले युवाहरूलाई संगठनमा समायोजन गर्न नयाँ संरचना — युथ भोलेन्टियर फोर्स — गठन गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलामा यो फोर्सको औपचारिक घोषणा गरिएको हो।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए। युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सका लागि आचारसंहिता तयार गरिएको र भक्तपुरपछि ललितपुर, काठमाडौं, काभ्रे, रामेछापजस्ता जिल्लामा पनि यो घोषणा गरिने बताए।
बस्नेतका अनुसार यो पहलकदमीमा मधेश, पहाड र हिमाल क्षेत्रका संगठनहरूले समर्थन दिएका छन्। उनकाे भनाइअनुसार केपी ओली गुण्डुमा बस्न थालेपछि पछिल्ला दुई महिनामा करिब दुई हजार युवा उक्त क्षेत्रमा सक्रिय भएका छन् र स्थानीय तर्फबाट कुनै गुनासो पनि आएको छैन।
पुष्प श्रेष्ठ र अमित पौडेलसहितका नेताहरूले समन्वय कार्य गरिरहेको र युवा संघ, भूपू सैनिक संगठन तथा एमाले भक्तपुरले नेताहरूको सुरक्षा तथा समाजमा देखिने अराजकता र अव्यवस्थाविरुद्ध काम गरिरहेको उनले बताए। बस्नेतले विगतमा यस्ता युथ फोर्सद्वारा माओवादीको उत्पात रोकिएको उदाहरणसमेत उल्लेख गर्दै अहिले पनि युथ भोलेन्टियर फोर्सले सबै प्रकारका अराजकता नियन्त्रणमा सक्रिय रहने जानकारी दिए।