काठमाडौं। नेकपा एकीकृत समाजवादी लगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र अन्ततः विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव, जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन्।
मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे। नेता शर्माले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्वीकार गरी नयाँ अभियान मार्फत् संकल्प पूरा गर्ने बताए ।
उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत् अघि बढ्ने बताएका हुन् ।
उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमी छ, हामीले पनि गल्ति गरेका छाैँ, हामी पनि त्यसमा सहभागी छाैँ, कुनै न कुनै रुपमा साथ सहयोग गर्दै आयौँ, त्यसप्रति क्षमा चाहान्छौँ । र ति आफ्ना कमजोरीलाई स्वीकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत त्यसलाई पूरा गर्ने एउटा संकल्प गर्न चाहान्छौँ।’
उनले शहीद, वेपत्ताका सपनाहरुलाई पुरा गर्न र घाइते योद्धाहरुका अपेक्षाहरु पुरा गर्न तयार रहेको समेत बताए । ‘हामी एउटा ऐतिहासिक मोडमा छाैँ । एउटा जोखिम, एउटा चुनौति, एउटा सम्भावना बोकेर हामी उपस्थित भएका छाैँ । हामी शहीद, वेपत्ताका सपनाहरुलाई पूरा गर्ने उहाँहरुका परिवारजनका आशा र विश्वासहरु घाइते योद्धाहरुका अपेक्षाहरु उनीहरुमा आकांक्षासहित तमाम् प्रश्नहरुको जिवन्त जवाफ हामीले दिनुपर्ने छ । हामी त्यो दिनेछौँ । सम्रग त्यो जिम्मा लिन तयार छौँ,’ उनले भने ।
उनले नेकपा बनाउँदा देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि वृहत वामपन्थी एकता गरेको भन्दै त्यसमा आफूले हस्ताक्षर गरेको बताए ।
‘हामी भिन्न रुपमा राजनीति फोर्षलाई विक्षित्त गर्न चाहान्छौँ । भिन्न दृष्टिकोणबाट अगाडि बढाउन चाहान्छौँ । एउटा जवाफ मैले दिनुपर्ने छ, धेरै कुराहरु उठिरहेका छन्, के भनिँदैछ भने नेकपा बनाउँदा यसले हस्ताक्षर गरेको थियो अहिले विरोध गरिरहेको छ भन्ने छ त्यसको कुनै साइनो र तुक छैन । किन छैन भने त्यसबेला वृहत वामपन्थी एकता गरेर यो देशको राजनैतिक अस्थिरतालाई समाप्त पार्नका लागि गरिएको थियो,’ उनले भने ।