काठमाडौं। सांसद सुमना श्रेष्ठले हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै वैकल्पिक राजनीतिलाई संस्थागत बनाउन ‘सामुहिक नेतृत्व’को अवधारणा अघि सारेकी छन्।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत पुराना दलहरूले देशलाई निराशा बाहेक केही नदिएको आरोप लगाउँदै नयाँ राजनीतिक विकल्पहरूको आवश्यकता तीव्र भएको बताएकी छन्।
उनले लेखेकी छन्, ‘राजनीतिक निकासबिना कुनै पनि आन्दोलन संस्थागत हुन सक्दैन भन्ने बुझाइ हामी सबैको हो। तर पुराना दलहरू रिफर्म होलान र राजनीतिक निकास पाइएला भन्ने आशा राख्नु मूर्खता हो।’
श्रेष्ठका अनुसार पटक–पटक सत्तामा पुगेका दलहरूले देशलाई निकास दिन असफल भएकाले अब वैकल्पिक शक्तिहरूबीच पनि एकता र सहकार्य आवश्यक भएको बताइन्। तर, परिवर्तनको पक्षमा उभिएका शक्तिहरू नेतृत्वका विषयमा एकताबद्ध हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।
उनले थप लेखेकी छन्, ‘परिवर्तन ल्याउने भनिएकाहरू अझै छिन्नभिन्न छन्। त्यसको एउटा कारण नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने रहेछ।’
श्रेष्ठले नयाँ नेतृत्व संरचनाबारे सुझाव दिँदै लेखेकी छन्, ‘पार्टीलाई दिशा दिन एक नेता होइन, एउटा परिषद् (Council of Leaders) बनाए कस्तो होला? कुनै एक नायकको अनुहार अगाडि राख्नुभन्दा विचार र कर्ममा स्पष्ट भएर जनताको मुद्दामा केन्द्रित हुन सकिन्न?’
उनले देशलाई मध्यमार्गी पथमा हिँडाउने, बजारलाई उचित नियमन गर्ने र समृद्धि ल्याउने सरकार जनताको चाहना भएको पनि उल्लेख गरेकी छन्।
श्रेष्ठले अन्त्यमा लेखेकी छन्, ‘हामीलाई अहिले चाहिएको जनताको मुद्दा बोकेको वैकल्पिक राजनीतिलाई मूलधारमा ल्याउने आन्दोलन हो। त्यसको मर्म आत्मसात गर्न सबैले मनन गरौँ।’