काठमाडौं । नेकपा (एमाले) को प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले सुदन गुरुङको नागरिकता सक्कली वा नक्कली भएको विषयमा एक हप्ताभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएको छ। यदि सरकारले तोकिएको समयमा छानबिन नगरेमा युवासंघ आफैँले उनलाई खोजेर प्रहरीलाई बुझाउने चेतावनी समेत दिएको छ।
पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न संघको पदाधिकारी बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो। बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज राजिब पहारी विशेष अतिथि थिए भने अध्यक्षता संगठनका अध्यक्ष क्षितिज थेबेले गरेका थिए।
बैठकका निर्णयबारे जानकारी दिँदै संगठनका प्रवक्ता निरोज पौडेलले भने, ‘सुदन गुरुङको नागरिकताको विषयमा गम्भीर प्रश्न उठेको छ। सरकारले एक हप्ताभित्र यसको छानबिन गरोस्। यदि सरकारले बेवास्ता गरेमा युवासंघले उनलाई कानुनी प्रक्रियामा ल्याउन अग्रसरता लिनेछ।’
यसैगरी, बैठकले हालै ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुर्याइएको भनिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको तेह्रथुम, आठराईमा रहेको घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ। प्रवक्ता पौडेलका अनुसार, घर पुनर्निर्माणका लागि आठराईबाटै राष्ट्रिय अभियानको सुरुवात गरिनेछ।
बैठकले आन्दोलनको नाममा देशमा अराजकता फैलाउने र सरकारी सम्पत्ति जलाउनेहरूलाई कानुनी कठघरामा उभ्याउन पनि माग गरेको छ। साथै, ‘जेनजी’ पुस्ताका युवाहरूलाई राष्ट्र निर्माणको जागरण अभियानमा समेट्ने र उनीहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय पनि युवासंघले गरेको छ।
प्रवक्ता पौडेलले भने, ‘आपराधिक मानसिकता बोकेका, राज्यको सम्पत्ति खरानी पार्ने र नेतादेखि प्रहरीसम्मलाई निसाना बनाउने अराजक युवाहरूलाई सरकारले तुरुन्त गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाओस् भन्ने हाम्रो माग छ।’ बैठकले संगठन सुदृढीकरण र आगामी कार्ययोजनासम्बन्धी अन्य निर्णयहरू समेत गरेको जनाइएको छ।