काठमाडौं । भारतको नयाँ दिल्लीस्थित लाल किल्लानजिकै भएको विस्फोटप्रति प्रधानमन्त्री सुशीला कार्कीले दुःख व्यक्त गरेकी छन्। कार्कीले सामाजिक सञ्जालमा विस्फोटको घटनाले स्तब्ध भएको बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गर्दै लेखेकी छन्, ‘हिजो साँझ दिल्लीमा भएको दुःखद विस्फोट घटनाबाट म स्तब्ध र दुःखी भएको छु। पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्ध छ।’
नयाँ दिल्लीमा सोमबार साँझ कार विस्फोट भएको थियो। विस्फोटमा परेर ८ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनापछि दिल्लीमा सुरक्षा कडाइ गरिएको छ र प्रहरीले विभिन्न एजेन्सीसँग मिलेर अनुसन्धान सुरु गरेको छ।
विस्फोट भएको कार ह्युन्डाई कम्पनीको आई–२० मोडल रहेको बताइएको छ। तर कार कसको थियो र विस्फोटअघि कहाँ–कहाँ पुगेको थियो भन्नेबारे प्रष्ट विवरण अहिलेसम्म आएको छैन। केही भारतीय सञ्चार माध्यमहरूले विस्फोट हुनु अघि उक्त कार केही घण्टासम्म लालकिल्ला आसपास पार्किङमा रहेको दाबी गरेका छन्, तर दिल्ली प्रहरीले यसबारे आधिकारिक रूपमा पुष्टि गरेको छैन।
गएरातिको विस्फोटपछि राजधानी दिल्ली र वरपरका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। यातायातका केन्द्र, बजार र भीडभाड भएका ठाउँहरूमा प्रहरीको उपस्थिति बढाइएको छ। भारतको आर्थिक राजधानी मुम्बईमा समेत सुरक्षा सतर्कता बढाइएको बताइएको छ।
गृह मन्त्री अमित शाह गएराति नै घटनास्थल पुगेका थिए। उनले सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहिरो अनुसन्धान भइरहेको जनाएका छन्। शाहका अनुसार विस्फोट कसरी भयो, यसको कारण के हो र यसमा कुनै आतङ्कवादी संलग्नता छ कि छैन भन्नेबारे सम्पूर्ण पक्षबाट अध्ययन भइरहेको छ।
विस्फोट भएको स्थान लालकिल्ला मेट्रो स्टेशन नजिक पुरानो दिल्लीको अत्यन्तै व्यस्त क्षेत्र हो। मुगलकालमा बनेको लालकिल्ला भारतको ऐतिहासिक सम्पदामध्ये एक हो र दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गर्छन्। विस्फोटपछि अमेरिकी दूतावासले पनि आफ्ना नागरिकहरूलाई लालकिल्ला र चाँदनी चोक वरपर नजान र भिडभाडबाट टाढा रहन सुझाव दिएको छ।
घटनास्थलमा अहिलेसम्म जलेका र क्षतिग्रस्त कारका भग्नावशेष देखिन्छन्। फोरेंसिक टोलीले घटनास्थलबाट नमूना सङ्कलन गरी परीक्षणका लागि पठाएको छ। विस्फोट सीएनजी ट्याङ्क फुटेर भएको हो वा योजनाबद्ध रूपमा गराइएको हो भन्नेबारे अहिलेसम्म केही स्पष्ट भइसकेको छैन।
विस्फोटमा ज्यान गुमाएका व्यक्तिहरूका आफन्तहरू अस्पताल र शव राखिएको स्थानमा पुगेका छन्। शोकमा डुबेका उनीहरूले मृतकका शव बुझ्ने तयारी गरिरहेका छन्।
अहिले दिल्ली प्रहरी, एनआईए, एनएसजी र फोरेंसिक टोली मिलेर घटनाको कारण पत्ता लगाउने प्रयासमा छन्। सरकारले दोषी पत्ता लगाएर कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।