• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

लेखक नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ सार्वजनिक

काठमाडौँ । लेखक नेत्र खतिवडाको मुक्तक सङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ सार्वजनिक भएको छ । विराटनगरमा आज आयोजित एक कार्यक्रमका माझ खतिवडाको मुक्तक सङ्ग्रह सार्वजनिक गरिएको हो ।

लेखक खतिवडाको यो पहिलो मुक्तक सङ्ग्रह हो । खतिवडाले समाजमा व्याप्त निराशाका बिच यस मुक्तक सङ्ग्रहले सकारात्मक सन्देश प्रवाह गर्न सक्ने आशा व्यक्त गरे ।

खतिवडाले भने, “ढुङ्गो फुलेपछि शीर्षकभित्र रहेका मेरा मुक्तकहरूले सकारात्मक सन्देश दिन सक्छन् भन्ने मेरो बुझाइ छ । मनमा उठेका भावनालाई छोटो र गहिरो शैलीमा प्रस्तुत गर्नु, सामाजिक नैतिक विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु, शब्द शैली, लयको माध्यमबाट श्रोताहरूलाई गायनको आनन्द दिने उद्देश्यले दैनिकको थकान भुल्न, सामाजिक विकृति, विसङ्गतिको परिवर्तनको लागि ढुङ्गो फुलेपछि एउटा भावनात्मक यात्रा हो ।”

१९२ मुक्तक समेटिएका यस कृतिलाई नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले प्रकाशित गरेको छ । पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।