• २०८३ असार २४
  • 2026 July 08, Wednesday

खण्डन समाचार : काठमाडौं मोडल कलेजमा केही भएकै छैन

काठमाडौंको बागबजारमा रहेको काठमाडौं मोडेल कलेज ‍(केएमसी)ले आफ्नो संस्थाबारे प्रकाशित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएपछि समाचारको खण्डन गर्न पाउने खण्डनकर्ताको अधिकार सुनिश्चित होस् भनेर यो खण्डन प्रकाशित गरेका छौँ ।

हुलाक सञ्चारले गएको साउन ९ र १२ गते केएमसी कलेजमा विद्यार्थीमाथि भएको शोषणबारे समाचार प्रकाशित गरेको थियो । विद्यालयले समाचारमा लगाइएका आरोपहरूमा कुनै सत्यता नभएको र यस्ता संवेदनशील विषयमा भ्रम फैलाएर संस्थाको प्रतिष्ठामा आँच पुऱ्याउने काम भएको बताएको छ।

विद्यालयले बुँदागत रूपमा खण्डन गर्दै भनेको छ–

१, यौन शोषणको आरोपः विद्यालयले यौन शोषण गरिएको भन्ने समाचारलाई ठाडै नकारेको छ। हालसम्म कुनै पनि विद्यार्थी वा अभिभावकबाट यस्तो कुनै पनि गुनासो नआएको स्पष्ट पारेको छ।

२, कपडा उतारेको प्रसंगः समाचारमा विद्यार्थीको ‘कपडा उतारियो’ भनी आएको खबरलाई बङ्ग्याइएको विद्यालयको दाबी छ। विद्यालयका अनुसार, एक विद्यार्थीले हात काटेको शंका लागेपछि सर्टको बाहुलाको टाँक मात्र खोल्न लगाइएको थियो, जसलाई सम्पूर्ण कपडा उतारेको भनि अतिरञ्जित गरिएको हो।

३, ब्ल्याकमेल र गोप्य फोटोको आरोपः विद्यार्थीलाई दुराशय राखेर झुक्याउने, अल्मल्याउने वा गोप्य फोटो माग्ने जस्ता कुनै पनि कार्य विद्यालयमा नभएको।

४, आत्महत्या प्रयासको खबरः कुनै पनि विद्यार्थी आत्महत्याको नजिक पुगेको भन्ने समाचार गलत भएको र विद्यालयले विद्यार्थीहरूको मानसिक स्वास्थ्यका लागि मनोपरामर्शदाता, स्वास्थ्यकर्मी र शिक्षकहरूबाट नियमित हेरचाह र सहयोग प्रदान गरिरहेको र उनीहरूको आत्मबल बढाउन सधैं क्रियाशील रहेको बताइएको छ।

विद्यालय प्रशासनले कुनै पनि विद्यार्थीमाथि अन्याय, दुर्व्यवहार वा भेदभाव भएमा तत्काल कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। विगतमा पनि सामान्य अनुशासन उल्लंघन गर्ने शिक्षकलाई समेत बर्खास्त गरिएको उदाहरण दिँदै विद्यालयले आफ्नो मूल्य–मान्यतामा दृढ रहेको जनाएको छ।

हाम्रो भन्नु–

काठमाडौँ मोडेल कलेज (केएमसी) स्वयंले विभिन्न अनुशासनजन्य कारबाही गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरिसकेको अवस्था र उक्त पत्राचार आफैँले सञ्चारमाध्यम र प्रेस काउन्सिललाई उपलब्ध गराइसकेको अवस्थाले पनि देखाउँछ, ती घटनाहरू तथ्यपरक थिए, भ्रमपूर्ण थिएनन् । यदि समाचारमा उल्लेख गरिएको जस्तो केही नभएको भए विद्यालय प्रशासनबाट अनुशासन कारबाही किन गरियो ? सो कुरा स्वयं विद्यालयले उत्तर दिनुपर्ने विषय हो ।

पत्रकारिताको धर्म हो पीडितको आवाज बुलन्द गर्नु, अन्यायविरुद्ध सत्य बोल्नु र समाजलाई सूचना उपलब्ध गराउनु । त्यही दायित्व अनुरूप नै समाचार सम्प्रेषण गरिएको हो । हाम्रो समाचारको उदेश्य कुनै संस्था वा काेही व्यक्तिको चरित्रहत्या गर्नु वा कसैलाई लान्छना लगाउने हुँदै होइन । हामी जिम्मेवार मिडिया हौँ । हाम्रो तर्फबाट यस्तो कुराको कल्पनासमेत गर्न सक्दैनौँ ।